सूर्योदय ३ जीलगाउँमा आगलागी हुदाँ घर र पिकअप गाडी पूर्णरूपमा जलेर नष्ट

समाचार

सूर्योदय नगरपालिका–३ जीलगाउँमा सोमबार बिहान आगलागी हुँदा एक घर र घरको आँगनमा पार्किङ गरी राखिएको पिकअप गाडी पूर्णरूपमा जलेर नष्ट भएको छ।

बिहान करिब ३ बजेको समयमा सन्तुलाल तामाङको घरमा अचानक आगलागी भएको हो। आगलागीका कारण तामाङको घरसँगै आँगनमा पार्किङ गरी राखिएको पासाङ तामाङको पिकअप गाडीसमेत जलेर पूर्णरूपमा नष्ट भएको स्थानीयले बताएका छन्।

आगलागीको सूचना पाएपछि सूर्योदय नगरपालिकाको दमकल, इलाका प्रहरी कार्यालय पशुपतिनगरबाट खटिएको प्रहरी टोली तथा सशस्त्र प्रहरीको टोली घटनास्थलमा पुगेर आगो नियन्त्रणमा लिएको थियो।

आगो नियन्त्रणमा आए पनि घर र पिकअप गाडी पूर्णरूपमा जलेर नष्ट भएको बताइएको छ। प्रारम्भिक अनुमानअनुसार विद्युत् लाइन सर्ट भएर आगलागी भएको हुनसक्ने बताइएको छ। यद्यपि आगलागीको वास्तविक कारण र क्षतिको विस्तृत विवरण भने खुल्न बाँकी छ।

घरमा सन्तुलाल तामाङ एक्लै बस्दै आउनुभएको बताइएको छ। आगलागी भएको थाहा पाउँदा घरमा आगो निकै फैलिसकेको र तत्काल बाहिर निस्किएर आफूले ज्यान बचाउन सफल भएको तामाङले बताउनुभएको छ।

बिहानै भएको आगलागीको घटनाले जीलगाउँवासीलाई दुःखी बनाएको छ।

Share this: