सुर्योदय ८ छिपिटारमा ‘स्व मैया कार्की स्मृति गोल्ड कप’ भोली देखि सुरु हुँदै

खेलकुद पर्यटन

सूर्योदय–८ छिपिटारमा पम्प सिटि युथ क्लबद्वारा आयोजित प्रथम आमन्त्रित स्वर्गीय मैया कार्की स्मृति गोल्ड कप फुटबल प्रतियोगिता मंसिर २७ गतेबाट पौष ५ गतेसम्म सञ्चालन हुने भएको छ। प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ।

लामो समयदेखि प्रयोगमा नआएको बसपार्कका लागि छुट्टाइएको जग्गालाई स्थानीय युवाले खेल विकासका लागि उपयोग गर्दै फुटबल मैदान निर्माण गरेका छन्। छिपिटार टोल विकास संस्थाका अध्यक्ष अजित गुरुङका अनुसार स्थानीयको सक्रिय सहभागिताले मैदान तयार पारेर प्रतियोगिता आयोजना गर्न लागिएको हो।

प्रतियोगितामा इलाम, झापा र मोरङका गरी ८ वटा नामी क्लबको सहभागिता रहने पम्प सिटि युथ क्लबका अध्यक्ष अनिल प्रधानले जानकारी दिए। रेड डेभिल्स नयाँबजार, पम्पसिटि युथ क्लब, कन्याम एफसी, युथ अफ आहाले, उर्लाबारी एफसी, रेडहर्स इलाम, शनिश्चरे एफसी झापा र तुर्केनी एससी क्लब प्रतिष्पर्धा गर्नेछन्।

बिजेताले १ लाख रुपैयाँ नगदसहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उप–बिजेताले ५० हजार रुपैयाँ पुरस्कार पाउनेछन्। सात–सात खेलाडीको टिम रहने प्रतियोगिता सफल बनाउन आवश्यक पूर्वाधार निर्माणको काम सम्पन्न भएको संयोजक भक्त गुरुङले बताए।

खेलमैदान मर्मतका लागि प्रेम कार्कीले पूर्ण आर्थिक सहयोग गरेका छन्। आमाको स्मृतिमा मैदान निर्माण खर्च बेहोरेको सम्मानस्वरूप प्रतियोगिताको नाम स्व. मैया कार्की स्मृति फुटबल प्रतियोगिता राखिएको हो।

प्रतियोगिता अवधिभर १० हजारभन्दा बढी दर्शक भित्र्याउने लक्ष्य राखिएको छ। यस प्रतियोगिताले स्थानीय खेलाडीको खेलकुद सीप अभिवृद्धि हुनुका साथै खेल पर्यटन प्रवर्द्धनमा पनि टेवा पुर्‍याउने विश्वास आयोजकले व्यक्त गरेको छ।

Share this: