इलामको रोङमा समाजका अग्रजलाई सम्मान

समाचार

गोविन्द पौडेल रोङ ६ , इलाम

ज्येष्ठ नागरिक दिवसको अवसरमा रोङ गाउँपालिका–६ मा रहेको ज्येष्ठ नागरिक समाजले समाजका अग्रज ज्येष्ठ नागरिकहरूलाई सम्मान गरेको छ।

समाजका स्रष्टा, सृष्टिका सर्जक तथा ऐतिहासिक धरोहरका रूपमा लिइने ज्येष्ठ नागरिकहरूको हक–हित, मूल्य–मान्यता र महत्वबारे सचेतना फैलाउने उद्देश्यसहित कार्यक्रम आयोजना गरिएको हो। कार्यक्रममा विगतको योगदानको समीक्षा गर्दै वर्तमानमा ज्येष्ठ नागरिकको भूमिकाबारे समेत चर्चा गरिएको थियो।

ज्येष्ठ नागरिक समाज रोङका अध्यक्ष चन्द्रबहादुर गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा ७८ वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई रोङ गाउँपालिकाका अध्यक्ष मणिकुमार स्याङ्वो तथा उपाध्यक्ष विष्णुमाया भुजेलले सम्मान गरेका थिए।

कार्यक्रममा रोङ गाउँपालिका–६ का दर्जनौँ ज्येष्ठ नागरिकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

नेपालमा हरेक वर्ष पुस ११ गतेलाई ज्येष्ठ नागरिक दिवसका रूपमा मनाइँदै आएको छ।

Share this: