बिक्रम सुन्दास :- फिक्कल ,इलाम
इलाम सुर्योदय नगरपलिका वडा नम्बर ९ निवासी छन्द कवि नुरज भट्टराई नदी द्वारा लिखित पहिलो कविता संग्रह ‘शब्दखेती’ को लोकार्पण कार्यक्रम आइतबार फिक्कलमा सम्पन्न भएको छ। सुर्योदय सामाजिक प्रतिष्ठानको आयोजनामा आयोजित कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष देवीप्रसाद गौतमले अध्यक्षता गर्नुभएको थियो।
मोती छन्द कला साहित्य झापाका संयोजक तथा छन्द कवि हरिप्रसाद रिमाल प्रमुख अतिथि रहनुभएको कार्यक्रममा इलाम मरब क्याम्पसका पुर्व–प्रमुख केशबहादुर राई, बुद्धी प्रसाद घिमीरे प्रतिष्ठान इलामका अध्यक्ष टिका घिमिरे लगायत विशिष्ट अतिथिहरूले ‘शब्दखेती’ संग्रहमाथि बोल्नु भएको थियो । उहाँहरुले लेखक आफुले देखेका भोगेका कुराहरु नै कविताको माध्यमबाट आएकाने र यस्ले समाज रुपान्तरण गर्नमा महत्वपुर्ण भुमिका खेल्ने बताउँदै शुभकामना व्यक्त गर्नुभएको थियो ।
करीब दुई दशकदेखि साहित्यका विविध विधामा लेखन गर्दै आउनुभएका कवि भट्टराईले पुस्तक विमोचनको अवसरमा आफ्ना अनुभव सुनाउँदै भन्नुभयो, “यो मेरो लेखन यात्राको औपचारिक सुरुवात हो। साहित्य गहिरो अध्ययनको विषय हो, सतही रूपमा यसलाई बुझ्न सकिन्न।” उहाँले आफुले शव्दको खेती गर्दै गर्दा पूस्तक लेखनको क्रममा के भन्ने के नभन्ने अवस्थामा पुगेको बताउनुभयो ।
कार्यक्रममा छिमेकी राष्ट्र भारतको मिरिकबाट डाक्टर कमला तामाङ, केशङ लामा, दिप प्रधान, सिलिगुडीबाट सुरेन प्रधान, पुष्पा प्रधान, आशिस प्रधान, झापाबाट तुलसीप्रसाद भट्टराई, इन्द्रप्रसाद कट्टेल, लक्ष्मी अच्युत ढुङ्गाना, इलामबाट विमल बैद्य, शिव अधिकारी ‘इलामे जोठो’, देवी गौतम, कविता राई ‘गाउँले’, दिपेन्द्र आचार्य, डिल्ली सुवेदी ,कुलप्रसाद ढकाल, अर्जुन ‘बेदना राई’ लगायतका विशिष्ट साहित्यकार तथा विभिन्न साहित्यिक संघसंस्थाका प्रतिनिधि कविहरुको उल्लेखनीय उपस्थिति रहेको थियो।