इलाम, सूर्योदय
चाडपर्वलाई लक्षित गर्दै सूर्योदय नगरपालिकाले शुक्रबार फिक्कल बजारमा व्यापक बजार अनुगमन गरेको छ । अनुगमनका क्रममा ९ वटा किराना पसलमा म्याद गुज्रिएका ३१ हजार २ सय ५ रुपैयाँ बराबरका सामग्री फेला पारी जफत गरिएको छ ।
जफत गरिएका सामग्रीमध्ये भुजिया, डेरीमिल्क, चिप्स, जाम, मटरफ्राई, चुइगम, मसला, चोकोपोको, गुलाबजामुन लगायत २३ प्रकारका वस्तु रहेका छन् । तीमध्ये मिठाईसम्बन्धी वस्तु बढी रहेको अनुगमन टोलीले जनाएको छ ।
अनुगमन समिति संयोजक नविन ढकालका अनुसार विगतको तुलनामा बजारमा सुधार देखिए पनि अझै केही पसलमा पुरानै प्रवृत्ति दोहोरिएको पाइएको छ । उहाँले विशेष गरी बिहीबार हटियाका दिन बाहिरबाट आएका व्यापारीको पसलमा ठूलो मात्रामा म्याद गुज्रिएका खाद्यवस्तु भेटिएको जानकारी दिनुभयो । ।
बिहीबार हटियाका दिन मात्रै फिक्कल बजारमा बाहिरबाट आएका व्यापरिबाट सञ्चालित ११ वटा किराना पसल अनुगमन गर्दा ४१ प्रकारका ६१ हजार ९२५ रुपैयाँ बराबरका अखाद्य वस्तु जफत गरिएको थियो ।
अनुगमनमा इलाका प्रशासन कार्यालय फिक्कलका प्रमुख होमनाथ पोखरेल, फिक्कल प्रहरी चौकीका इन्चार्ज विष्णु प्रसाद सापकोटा, नगर प्रहरी तथा सम्बन्धित निकायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।
सूर्योदय नगरपालिकामा नगर उपप्रमुख दुर्गाकुमार बरालको संयोजकत्वमा उपभोक्ता हित संरक्षण समिति गठन गरिएको छ । समितिको मातहतमा बजार अनुगमन समिति निर्माण गरिएको छ । उपप्रमुख तथा उपभोक्ता हित संरक्षण समितिका संयोजक बरालले नागरिकको स्वास्थ्यमा प्रत्यक्ष असर गर्ने अखाद्य वस्तु बिक्री गर्ने गरिएको गुनासो आइरहने भएकाले नगरले नियमिति अनुगमन गर्दैआएको जानकारी दिनुभयो ।
फिक्कल बजार पर्यटकीय क्षेत्र तथा इलाम जिल्लाकै हालको चलायमान बजारको रुपमा छ । उपभोक्ताको स्वास्थ्य हितका लागि नगरपालिकाले आगामी दिनमा नियमित अनुगमनलाई निरन्तरता दिने जनाएको छ ।