नेशनल लघुवित्तको समूह अध्यक्ष गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

समाचार

नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेड, शाखा कार्यालय कोल्बुङ्ग, इलामले रोङ गाउँपालिका–३ स्थित हर्कटे बजारको कुटी होटलको सभा हलमा समूह अध्यक्ष गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको हो।

रोङ गाउँपालिका वडा नं। ३ का वडा अध्यक्ष मात्रिका बरालको प्रमुख आतिथ्यता तथा समूह नं। ४३ की अध्यक्ष इन्द्रकुमारी आचार्यको सभापतित्वमा आयोजित कार्यक्रममा संस्थाका संस्थापक सदस्य लक्ष्मण पाण्डे विशिष्ट अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो। कार्यक्रममा सूर्योदय नगरपालिका–६ की वडा सदस्य चन्द्रकला मैनाली तथा प्रहरी चौकी हर्कटेका प्रतिनिधि डिल्लीबहादुर दाहालको समेत उपस्थिति रहेको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि वडा अध्यक्ष बरालले संस्थाबाट लिएको कर्जालाई साना तथा उत्पादनमूलक व्यवसायमा लगानी गरी उद्यमी बन्न सदस्यहरूलाई आग्रह गर्नुभयो। उहाँले कर्जा मिनाहा नहुने भएकाले विभिन्न हल्ला र अफवाहको पछि नलाग्न सचेत गराउँदै संस्थाले उद्यमशीलता विकासका लागि थप तालिम सञ्चालन गर्नुपर्ने सुझाव दिनुभयो।

विशिष्ट अतिथि तथा संस्थापक सदस्य लक्ष्मण पाण्डेले सदस्यहरूले कर्जाको सदुपयोग गरी सफल उद्यमी बनेका उदाहरणहरूले संस्थाको उद्देश्य पूरा हुँदै गएको बताउनुभयो। उहाँले नेशनल लघुवित्त एक सबल संस्था भएको उल्लेख गर्दै लघु उद्यमी, कृषक तथा साना व्यवसायीलाई निरन्तर सहयोग गर्न संस्था प्रतिबद्ध रहेको धारणा राख्नुभयो।

संस्थाको केन्द्रीय कार्यालयका प्रतिनिधि तथा अनुगमन अधिकृत पृथसिंह खत्रीले सहजीकरण गर्नुभएको कार्यक्रममा संस्थाले देशभरका १८५ शाखा कार्यालयमार्फत करिब २ लाख ६६ हजारभन्दा बढी सदस्य र १ लाख २६ हजारभन्दा बढी ऋणी सदस्यलाई कृषि, पशुपालन, व्यापार तथा लघु उद्यम सञ्चालनका लागि २८ अर्ब रुपैयाँभन्दा बढी कर्जा लगानी गरेको जानकारी दिनुभयो।

उहाँका अनुसार संस्थाले प्रविधिमैत्री सेवा विस्तार गर्दै मोबाइल बैंकिङ, एसएमएस बैंकिङ तथा ट्याब्लेट बैंकिङजस्ता डिजिटल सेवाहरू सञ्चालन गरिरहेको छ। साथै विभिन्न अस्पतालहरूसँगको सहकार्यमा सदस्य, उनीहरूका परिवार तथा कर्मचारीलाई उपचार सेवामा विशेष छुट सुविधा उपलब्ध गराउँदै आएको पनि उहाँले बताउनुभयो। संस्थाले शिक्षा, स्वास्थ्य, वातावरण संरक्षणलगायत सामाजिक उत्तरदायित्वका क्षेत्रमा समेत सक्रिय भूमिका निर्वाह गरिरहेको खत्रीले जानकारी दिनुभयो।

शाखा कार्यालय कोल्बुङ्गका शाखा प्रबन्धक टेकनाथ अधिकारीले स्वागत मन्तव्य व्यक्त गर्नुभएको कार्यक्रमको सञ्चालन कर्मचारी किशोर भट्टराईले गर्नुभएको थियो। कार्यक्रममा करिब ७० जना सेवाग्राही सदस्यहरूको सहभागिता रहेको थियो।

कार्यक्रममार्फत सहभागीहरूले संस्थाको नीति–नियम तथा वित्तीय साक्षरतासम्बन्धी ज्ञान हासिल गरेका थिए। साथै शाखा कार्यालय कोल्बुङ्गअन्तर्गत सञ्चालित विभिन्न समूहहरूमध्ये उत्कृष्ट कार्यसम्पादन गर्ने प्रथम, द्वितीय र तृतीय समूह, उत्कृष्ट बचतकर्ता सदस्य तथा सफल उद्यमीहरूलाई प्रमाणपत्र र पुरस्कार प्रदान गरिएको थियो।

                                                                                                       

Share this: