माटो र लेदो पानी पस्दा खाम्री फिस फार्ममा ३३ लाखको क्षति, ११ हजार ९०० माछा मरे

समाचार

फिक्कल ,इलाम

इलामको सूर्योदय नगरपालिका ७ सीघ्राम स्थित खाम्री फिस फार्ममा माटोसहितको लेदो पानी पसेपछि करिब ३३ लाख रुपैयाँ बराबरको क्षति भएको छ। सौरे भन्ने स्थानमा माटो फालिएपछि बिरिङ खोलाको सहायक खोलाको मुहान हुँदै बगेर आएको धमिलो पानीले फार्ममा क्षति पुर्‍याएको सञ्चालकले बताएका छन्।

फार्म सञ्चालक मोहन लाप्चाका अनुसार डम्बर तामाङ र अंकित बस्नेतले सौरे क्षेत्रमा माटो फालेपछि करिब १० देखि १५ दिनसम्म माटोसहितको लेदो पानी बगेको थियो। उक्त पानी बिरिङ खोलाबाट फार्ममा आउने पानीको स्रोत हुँदै प्रवेश गरेपछि फार्मका तीनवटा पोखरीमा रहेका ११ हजार ९०० माछा मरेका हुन्।

माछा मरेपछि आफूले ठूलो आर्थिक क्षति बेहोर्नुपरेको सञ्चालक लाप्चाले बताएका छन्। उनका अनुसार माछा पालन व्यवसायमा भएको क्षतिले आफूलाई गम्भीर आर्थिक तथा मानसिक पीडामा पारेको छ।

क्षतिबारे जानकारी गराउँदै फार्म सञ्चालकले वडा कार्यालयमा निवेदन दिएका छन्। वडा कार्यालयले आवश्यक कारबाही तथा प्रक्रियाका लागि नगरपालिकामा सिफारिससमेत गरिदिएको लाप्चाले जानकारी दिए।

उनले घटनाको निष्पक्ष छानबिन गरी क्षतिको यथार्थ मूल्याङ्कन गर्न र कानुनसम्मत रूपमा क्षतिपूर्ति उपलब्ध गराउन सम्बन्धित व्यक्ति, स्थानीय सरकार तथा सरोकारवाला निकायसँग माग गरेका छन्।

कृषि तथा मत्स्यपालन व्यवसायमा निर्भर किसानले प्राकृतिक वा अन्य कारणबाट हुने यस्ता क्षति बेहोर्नुपर्दा ठूलो आर्थिक भार व्यहोर्नुपर्ने अवस्था छ। उनले बर्षेनी यस्ता घटना आफ्नो फार्मले बेहोरी रहेकाले यस प्रति खोलाका सिरमा बसेको नगारीकले सचेतना अपनाउनुपर्ने बताएका छन । पोखरी एयरीङ पोखरीहरु भएको संचालकको भनाई छ ।

Share this: