फिक्कल , इलाम
पूर्वको मदन पुरस्कारका रूपमा चिनिने विमल गुरुङ कृति पुरस्कारका लागि इलामको सूर्योदय नगरपालिका निवासी सर्जक दिपेन्द्र आचार्यको कविता सङ्ग्रह ‘व्यापार पृथ्वी’ उत्कृष्ट १० कृतिमा छनोट भएको छ।
दुई लाख रुपैयाँ राशिको उक्त पुरस्कारका लागि यस वर्ष प्राप्त ५२ वटा पुस्तकबाट उत्कृष्ट १० कृति छनोट गरिएको हो। शिक्षकसमेत रहेका आचार्यको कविता सङ्ग्रह उत्कृष्ट १० मा पर्न सफल भएपछि उनले खुसी व्यक्त गरेका छन्।
आफ्नो कृति उत्कृष्ट १० मा छनोट हुनु अत्यन्तै खुसी र आत्मबल बढाउने विषय भएको आचार्यले बताए। धेरै पुस्तकहरूमध्ये आफ्नो सिर्जना उत्कृष्ट १० मा पर्नु आफैँमा ठूलो उपलब्धि भएको उल्लेख गर्दै उनले यसबाट आगामी दिनमा थप लेखनका लागि प्रेरणा मिलेको बताए।
पुरस्कारका लागि छनोट भएका अन्य कृतिमा पाँचथरको हिलिहाङका मनु योङहाङको उपन्यास ‘सेक्मुरी फूल’, तेजबहादुर गुरुङ च्हाक्लीतमु को मुक्तक सङ्ग्रह ‘विन्तीपत्र’ र हङकङका जुनु दिव्या रानाको निबन्ध सङ्ग्रह ‘लाहुरेनी सौन्दर्य’ रहेका छन्।
त्यस्तै, कृष्ण उदासीको कविता सङ्ग्रह ‘पानीको पर्खाल’, भूपिनको निबन्ध सङ्ग्रह ‘मध्यको उज्यालो’, हङकङका कथाकार सुरेश यक्सोको कथा सङ्ग्रह ‘पेनिवा’, मेघनाथ दाहालको उपन्यास ‘साँघु’, दावा योन्जनको कविता सङ्ग्रह ‘जङ्गली फूल’ र कुबेरचन्द्र दाहालको उपन्यास ‘टिस्टा-रङ्गीत’ पनि उत्कृष्ट १० मा छनोट भएका छन्।
‘विमल गुरुङ कृति पुरस्कार’ अन्तर्गत विजेतालाई दुई लाख रुपैयाँसहित ताम्रपत्र र दोसल्ला प्रदान गरिनेछ।
