रोङ गाउँपालिका–३ अन्तर्गत कुटिडाँडा, हाँसपोखरी तथा पाथीभरा खानेपानी उपभोक्ता तथा सरसफाइ समितिको चौथो साधारण सभा तथा नयाँ कार्यसमिति गठन सम्पन्न भएको छ।
रोङ गाउँपालिकाकी उपाध्यक्ष विष्णुमाया खवासको प्रमुख आतिथ्यमा सम्पन्न साधारण सभामा समितिका पदाधिकारी, उपभोक्ता तथा स्थानीय सरोकारवालाको सहभागिता रहेको थियो। सभामा समितिले हालसम्म गरेका काम, खानेपानी सेवा व्यवस्थापन, मुहान संरक्षण, सरसफाइ तथा आगामी कार्ययोजनाका विषयमा छलफल गरिएको थियो।
कार्यक्रममा प्रमुख अतिथि उपाध्यक्ष खवासले खानेपानी नागरिकको आधारभूत आवश्यकता भएकाले यसको संरक्षण तथा दिगो व्यवस्थापनका लागि उपभोक्ता, समिति र स्थानीय सरकारबीच सहकार्य आवश्यक रहेको बताउनुभयो। उहाँले खानेपानीका मुहान संरक्षणसँगै उपभोक्तालाई नियमित र व्यवस्थित सेवा उपलब्ध गराउन समितिले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो।
साधारण सभामा समितिको आर्थिक विवरणसमेत प्रस्तुत गरिएको थियो। प्रस्तुत विवरणअनुसार समितिको जम्मा रकम रु। ४ लाख ८७ हजार ६ सय ५७, आम्दानी रु। ३ लाख ४६ हजार ३ सय ४२ तथा खर्चरबैंक बचतसम्बन्धी रकम रु। २ लाख ७३ हजार ७ सय १७ रहेको जानकारी गराइएको थियो।
साधारण सभाले रोहितकुमार गुरुङको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरेको छ। समितिको उपाध्यक्षमा सुनिल राई, सचिवमा केशवराज लुइँटेल र कोषाध्यक्षमा गोमा देवी भुजेल चयन हुनुभएको छ।
त्यस्तै सदस्यहरूमा कृष्ण श्रेष्ठ, डम्बरकुमारी राई, मनु बराइली, नन्द भुजेल, दिपेन चाम्लिङ र बल्लु राउत चयन हुनुभएको छ।
नवनिर्वाचित समितिले कुटिडाँडा, हाँसपोखरी तथा पाथीभरा क्षेत्रका उपभोक्तालाई खानेपानी सेवा थप व्यवस्थित र प्रभावकारी बनाउने प्रतिबद्धता जनाएको छ। समितिले खानेपानीका स्रोत तथा मुहान संरक्षण, सरसफाइ र नियमित सेवा प्रवाहलाई प्राथमिकतामा राखेर काम गर्ने जनाएको छ।
स्थानीय नागरिकको दैनिक जीवनसँग प्रत्यक्ष जोडिएको खानेपानी सेवाको संरक्षण, व्यवस्थापन तथा सुधारका लागि नयाँ कार्यसमितिले उपभोक्तासँग सहकार्य गर्दै अघि बढ्ने बताएको छ।
