इलाम, फिक्कल
नेपालीहरूको महान् पर्व विजयादशमीको अवसर पारेर गौरव चाम्लिङ राई अभिनीत ‘तिमी’ बोलको गीत सार्वजनिक गरिएको छ। सूर्योदय नगरपालिका-३ का गौरव चाम्लिङ राई र झापाकी सबिना लिम्बूको अभिनय रहेको गीतको भिडियो युट्युबमार्फत सार्वजनिक गरिएको हो।
पर्यटकीय नगरी सूर्योदय नगरपालिकाका विभिन्न रमणीय स्थानमा छायाङ्कन गरिएको भिडियोमा मक्करजुङ, साँघुबेँसी, स्वामी पार्क, कन्याम, सिमपानी, बोजोघारी र फिक्कल माध्यमिक विद्यालयलगायतका स्थान समेटिएका छन्। चाम्लिङले भने यस अघि पनि किराँती भेषमा, मायामा , काली काली बोलको गीतमा अभिनय गरी सक्नुभएको छ भने लिम्बुको यो डेब्यु भिडीयो हो ।
भिडियोमा विभिन्न प्राविधिक कोणबाट खिचिएका दृश्य समावेश गरिएको छ। गीतको भाव र कथालाई दृश्यमा स्वाभाविक रूपमा प्रस्तुत गर्ने प्रयास गरिएको निर्माण टोलीले जनाएको छ।
गीतमा शब्द, सङ्गीत तथा स्वर सूर्योदयकै छ्रयोगेल लामाको रहेको छ। दर्शन लाप्चाले छायाङ्कन गरेको भिडियोको निर्देशन सौगात चाम्लिङ राईले गर्नुभएको हो।
गीत यहाँ बाट बजाउनु होला
गीत सार्वजनिक कार्यक्रममा प्रमुख अतिथिका रूपमा उपस्थित गायक तथा सङ्गीतकार पूजन प्रधानले ‘तिमी’ गीत जेन्जी पुस्ताको रोजाइमा पर्न सक्ने बताउनुभयो। उहाँले सूर्योदय म्युजिक भिडियो निर्माणको हबका रूपमा विकास हुँदै गएको उल्लेख गर्दै स्थानीय निर्माण गृहहरू समन्वयात्मक ढङ्गले अघि बढ्न सके अग्रज कलाकारको साथ र विभिन्न क्षेत्रबाट सहयोग प्राप्त हुने विश्वास व्यक्त गर्नुभयो।
कार्यक्रममा सञ्चारकर्मी जयकुमार राईले गीतको प्रचारप्रसारमा सबैले सहयोग गर्नुपर्ने बताउनुभयो।
फिक्कलस्थित थुवान इन्स्टिच्युटको हलमा आयोजित कार्यक्रममा गीत सार्वजनिक गरिएको हो। स्थानीय कलाकारको सिर्जनालाई प्रोत्साहन गर्नुका साथै सूर्योदय क्षेत्रका पर्यटकीय स्थललाई गीत तथा भिडियोमार्फत प्रचारप्रसार गर्ने उद्देश्यले पनि यस्ता सिर्जनाले योगदान पुर्याउने अपेक्षा गरिएको छ।
