बिक्रम सून्दास :- फिक्कल , इलाम
इलामको सुर्योदय नगरपालिका–१० फिक्कलमा उभौँली चाडको अवसरमा दोस्रो बृहत् सकेला प्रदर्शन सम्पन्न भएको छ। किराँत राई यायोख्खा नगर समिति सुर्योदय तथा किराँत राई सांस्कृतिक कलाकार संघ जिल्ला कार्यसमिति इलामको आयोजनामा कार्यक्रम गरिएको हो । किराँत राई यायोख्खा नगर समिति सुर्योदयका अध्यक्ष जयकुमार राईको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि सुर्योदय नगरपालिकाका कार्यवाहक नगरप्रमुख दुर्गाकुमार बराल रहनुभएको थियो।
कार्यक्रममा विभिन्न क्षेत्रका समाजसेवी, जनप्रतिनिधि, सांस्कृतिक अभियन्ता, कलाकार तथा स्थानीय समुदायको उल्लेख्य सहभागिता रहेको थियो। कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि बरालले नेपाल बहुभाषिक, बहुजातीय र बहुसांस्कृतिक देश भएकाले सबै जातजातिका मौलिक संस्कृति संरक्षण र प्रवर्द्धन आवश्यक रहेको बताउनुभयो। उहाँले सकेला उभौँली चाडले प्रकृति, कृषि र समुदायबीचको सम्बन्धलाई जीवन्त बनाउने उल्लेख गर्दै यस्ता सांस्कृतिक पर्वले सामाजिक सद्भाव र एकताको सन्देश दिने धारणा राख्नुभयो।

यसैगरी चर्चित कलाकार तथा मोडल एलिसा राईले किराँत समुदायको मौलिक पहिचान झल्काउने सकेला संस्कृति संरक्षणका लागि इलाम जिल्लाले उदाहरणीय भूमिका निर्वाह गरिरहेको बताउनुभयो। उहाँले नयाँ पुस्तालाई आफ्नो भाषा, भेषभूषा, संस्कार र संस्कृतिसँग जोड्न यस्ता कार्यक्रम प्रभावकारी हुने धारणा व्यक्त गर्नुभयो। हाम्रा हरेक सभ्यता र संसकारहरु वैज्ञानिक तवरले स्वास्थ्इ संग जोडिएर आएको बताउनुभयो ।
कार्यक्रममा किराँत समुदायको मौलिक साकेला सिली नृत्य, किराँत समुदायले हरेक वर्ष वैशाख पूर्णिमाको आसपास मनाउने उभौँली पर्वलाई प्रकृतिप्रति कृतज्ञता व्यक्त गर्ने तथा राम्रो बाली र समृद्धिको कामना गर्ने पर्वका रूपमा लिने गरिन्छ। चाडका अवसरमा सामूहिक नृत्य, पूजा-आराधना तथा सांस्कृतिक कार्यक्रम आयोजना गरिएको थियो। सो अवसरमा यसवर्षको एसईई परिक्षमा उत्कृष्ट जिपिए ३.७७ ल्याउन सफल फिक्कल माध्ययामिक विद्ययालयकी आइसा राईलाई नगत सहित सम्मान गरिएको छ ।
आयोजकका अनुसार यस्ता कार्यक्रमले किराँत राई समुदायको भाषा, कला, संस्कृति तथा परम्पराको संरक्षण र पुस्तान्तरणमा महत्वपूर्ण योगदान पुर्याआउने विश्वास लिइएको छ। दोस्रो संस्करणको कार्यक्रमले स्थानीय स्तरमा सांस्कृतिक पर्यटन प्रवर्द्धन तथा किराँत समुदायबीच आपसी एकता र सहकार्यलाई समेत मजबुत बनाएको शिलि माङ्पा गौरव चाम्लिङ राईले बताउनु भयो ।
शिली प्रदर्शनको लागि सुर्योदय नगरपलिकाका १४ वटै वडा इलाको रोङ गाउँपालिका , माइ नगरपालिका , माइजोग्माई गाउँपालिका, इलाम नगरपालिका लगायत छिमेककी राष्ट्र भारतको दार्जेलिङ बाट समेत किराँती कलाकारहरुको उपस्थिति रहेको थियो ।
