इलामको सूर्योदय नगरपालिका ४ खड्का गाउँस्थित भित्री कच्ची सडकमा बाँस बोकेर जाँदै गरेको पिकअप गाडी दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।
प्रहरीका अनुसार आज बिहान करिब ११ः५५ बजे खड्का गाउँबाट बमजम डाँडातर्फ जाँदै गरेको प्रदेश १–०१–००१ ज ३५३२ नम्बरको पिकअप गाडी अनियन्त्रित भई सडकबाट करिब १०० मिटर तल खसेको थियो।
दुर्घटनामा गम्भीर घाइते भएका चालक सूर्योदय नगरपालिका ४ बमजम डाँडा निवासी ४५ वर्षीय बिलास राईलाई उपचारका लागि फिक्कल अस्पताल पुर्याइएको थियो। उपचारकै क्रममा दिउँसो १ः१५ बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका प्रहरीले जनाएको छ।

यस्तै, दुर्घटनामा सहचालक सूर्योदय नगरपालिका ४ श्रीबुङ निवासी २० वर्षीय कुन्दन वाईबा घाइते भएका छन्। उनको श्रीनिधि अस्पताल फिक्कलमा उपचार भइरहेको छ।
दुर्घटनामा घाइते भएका सोही स्थानका ४३ वर्षीय विशाल थुलुङ राईलाई थप उपचारका लागि झापास्थित बिर्तासिटी अस्पताल पठाइएको प्रहरीले जनाएको छ।
दुर्घटनाको कारण खुल्न नसकेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
