असोज १८ को प्राकृतिक विपत्ति पछि जनजिवन लयमा फर्कदै , यातायात अझै अवरुद्ध

समाचार

असोज १८ गते रातिदेखिको अविरल वर्षापछि ठूलो क्षति बेहोरेको इलाम जिल्लालाई सरकारले आगामी तीन महिनाका लागि संकटग्रस्त क्षेत्र घोषणा गरेको छ। लगातारको वर्षा र पहिरोका कारण मेचि राजमार्गसहितका धेरै सडक अवरुद्ध भएका छन् भने जनजीवन सामान्य हुन अझै समय लाग्ने देखिएको छ।

मेचि राजमार्गअन्तर्गत राजदुवाली सडकखण्डमा ठूलो पहिरो खसेपछि सडक खुलाउने कार्य अहिले पनि जारी छ। यो सडक अबरुद्ध हुँदा इलाम, पाँचथर, ताप्लेजुङ र तेह्रथुम जिल्लाका सर्वसाधारणलाई आवतजावतमा ठूलो कठिनाइ भएको छ।

यद्यपि अवस्था विस्तारै सामान्यतर्फ फर्कँदै गए पनि स्वास्थ्य, खाद्यान्न र इन्धन आपूर्ति संकट बढ्ने खतरा रहेको स्थानीयले जनाएको छ।

सरकार र विभिन्न संघ–संस्थाले राहत तथा उद्धार कार्य जारी राखेका छन्। प्रारम्भिक अवलोकनपछि ऊर्जा तथा जलस्रोत मन्त्री कुलमान घिसिङले इलाममा मात्रै करिब दुई अर्ब रुपैयाँभन्दा बढीको क्षति भएको प्रारम्भिक अनुमान गर्नुभएको छ।

हाल इलामको दानबारी–बेलासे सडक खण्ड समेत अवरुद्ध छ भने इलाम–नयाँबजार–गुप्ति–फिक्कल सडक सञ्चालनमा आएको छ तर त्यहाँ साना सवारीसाधन मात्र चल्न सक्ने अवस्था रहेको छ। वैकल्पिक सडक भए पनि दीर्घकालीन संरक्षण र विकास नहुँदा यातायातमा समस्या देखिएको हो।

अविरल वर्षा र पहिरोका कारण इलामका ६ वटा स्थानीय तहमा ९१९ वटा घरमा क्षति  पुगेको प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले जानकारी दिनुभयो।

जसमध्ये २४३ वटा घर पूर्ण रूपमा भत्किएका छन् भने ६७३ वटा आंशिक रूपमा क्षतिग्रस्त छन्। यस विपत्तिमा ३९ जनाको मृत्यु ,१ जना बेपत्ता र १३ जना घाइते भएका छन्।

सबैभन्दा धेरै क्षति इलाम नगरपालिकामा भएको छ, जहाँ २६३ वटा घरमा क्षति पुगेको छ। त्यसपछि सूर्योदय नगरपालिकामा १९४ देउमाइमा १११ माई नगरपालिकामा ७६ फाकफोकथुममा २० र माङ्सेवुङ गाउँपालिकामा ३ घरमा क्षतिपुगेको छ। मृतकमध्ये पुरुष १८ र महिला २१ जना रहेका छन्। प्रमुख जिल्ला अधिकारी नेपालका अनुसार हालसम्म ८७१८ जना नागरिक प्रभावित भएका छन्। तीमध्ये ११ जनालाई सामुदायिक भवनमा, ३८९ जनालाई आफन्त तथा छिमेकीको घरमा राखिएको छ भने बाँकी पाल टाँगेर आ–आफ्ना क्षतिग्रस्त घर र जमिनमा बसिरहेका छन्।

हाल जिल्लाका सन्दकपुर, माङ्सेवुङ, रोङ र चुलाचुली गाउँपालिकाको तथ्यांक संकलन कार्य जारी रहेको छ। स्थानीय प्रशासनले उद्धार, राहत र पुनःस्थापनाको कार्यलाई तीव्रता दिने तयारी गरेको जनाएको छ।

Share this: