इलाममा जिल्ला खेलकुद विकास समितिको नयाँ भवन आइतबार औपचारिक रूपमा उद्घाटन गरिएको छ । नयाँ भवनसहित अब इलामका खेलाडीहरूका लागि आधुनिक तथा सुरक्षित अभ्यास स्थलको व्यवस्था भएको छ, जसले जिल्लाको खेलकुद क्षेत्रमा नयाँ अध्याय लेख्ने अपेक्षा गरिएको छ ।
वर्षौंदेखि जोखिमपूर्ण पुरानो भवनमै कार्य सञ्चालन गर्दै आएको समितिले संघीय सरकारको बजेटमा बनेको आधुनिक भवनमा प्रवेश गरेको हो । संघीय शहरी विकास मन्त्रालयको सहयोगमा निर्माण गरिएको यो भवन ५० लाख रुपैयाँ लागतमा पहिलो चरणमा एक तल्ला सम्पन्न गरिएको समितिका अध्यक्ष खगेन्द्र बाँस्तोलाले जानकारी दिनुभयो ।
अध्यक्ष बाँस्तोलाका अनुसार, डिपिआरमा चार तल्ले भवन निर्माण गर्ने योजना छ, जसको कुल अनुमानित लागत पाँच करोड रुपैयाँ रहेको छ । उहाँले भन्नुभयो, “यो भवनले इलामका खेलाडीहरूलाई सुरक्षित र व्यवस्थित वातावरणमा अभ्यास गर्न सहयोग पुर्याउनेछ ।”
११ आनाको क्षेत्रफलमा फैलिएको यो भवनको पहिलो तला निर्माण सम्पन्न भइसकेको छ भने दोस्रो तला निर्माणाधीन अवस्थामा छ । समितिले पहिलो र दोस्रो तला व्यवसायिक प्रयोजनका लागि प्रयोग गर्ने योजना बनाएको छ । तेस्रो तला समितिको कार्यालयका रूपमा रहनेछ । चौथो तलामा खेलाडीका लागि कभर्ड हल निर्माण गरिने तयारी भइरहेको छ ।
यससँगै समितिले राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०७९ सालदेखि विकेन्द्रिकृत रूपमा पालिका–पालिका स्तरमा सञ्चालन गर्दै आएको छ । हालसम्म तीनवटा पालिकामा प्रतियोगिता सम्पन्न भइसकेको छ ।
जिल्लाको खेल विबासमा बजेटको अभाव समितिको प्रमुख चुनौती बन्ने गर्दछ । हाल प्रदेश खेलकुद विकास बोर्डबाट वर्षमा अढाईदेखि तीन लाख रुपैयाँ मात्र प्राप्त हुने भएकाले जिल्लास्तरीय सम्पूर्ण गतिविधि सञ्चालनमा कठिनाइ भएको समितिको भनाइ छ । समितिले तीनै तहका सरकारबीचको समन्वय र पर्याप्त बजेट व्यवस्थापन गर्न आग्रह समेत गरेको छ ।
यसैबीच, अध्यक्ष बाँस्तोलाको नेतृत्वमा चार वर्षे कार्यकाल पूरा गरेको समितिलाई एक कार्यक्रमबीच विदाई पनि गरिएको छ । उहाँहरूको नेतृत्वमा गरिएको प्रयासले इलामको खेलकुदमा नयाँ सम्भावनाको ढोका खोलिएको भन्दै स्थानीय खेलकर्मीहरूले प्रशंसा गरेका छन् ।
इलामका खेलाडीका लागि यो नयाँ भवन आशा र प्रेरणाको प्रतीक बनेको छ ।
नयाँ भवन उघाटन कार्यक्रममा खेलाडीहरु लाई शुद्ध पानी पिउनु को लागि एन के पिउरीफायर कम्पनीले ३८ हजार मुल्य बराबरको फिल्टर जिल्ला खेलकुद विकास समितिलाई प्रदान गरेको छ ।



