सूर्योदय नगरपालिकामा पहिलो पटक “प्रथम सूर्योदय कृषि मेला २०८२” आयोजना हुने

समाचार

सूर्योदय नगरपालिकामा पहिलो पटक “प्रथम सूर्योदय कृषि मेला २०८२” आयोजना हुने भएको छ। सूर्योदय कृषि मेला आयोजक समितिको आयोजनामा तथा सूर्योदय नगरपालिका वडा नं. १० को समन्वयमा सञ्चालन हुने उक्त मेला आगामी चैत्र ११ र १२ गते फिक्कल बसपार्कमा हुने जनाइएको छ।

आयोजक समितिले नगरबासी कृषक, व्यवसायी तथा सम्बन्धित सरोकारवाला सबैलाई मेलामा सक्रिय सहभागिताका लागि हार्दिक निमन्त्रणा गरेको छ। कृषि क्षेत्रको प्रवर्द्धन, उत्पादनको प्रदर्शनी तथा प्रतिस्पर्धात्मक वातावरण सिर्जना गर्ने उद्देश्यले मेला आयोजना गर्न लागिएको हो।

मेलामा गाई, भेडा, बाख्रा, कुखुरा, सागसब्जी, अर्किड, सक्युलेंट (Succulent) तथा सिजनल फूलहरू लगायतका विभिन्न विधामा प्रतियोगिता सञ्चालन गरिनेछ। प्रत्येक विधामा उत्कृष्ट कृषक तथा उत्पादकलाई नगद पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ। विभिन्न विधाअनुसार प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमशः रु.२०,००० सम्म प्रदान गरिनेछ। साथै “उत्कृष्ट फूल स्टल” लाई पनि रु.५,००० नगद पुरस्कार प्रदान गरिने व्यवस्था गरिएको छ। यस मेलामा कृषि ज्ञान केन्द्र, इलाम लगायतका निकायहरूको सहकार्य रहनेछ। आयोजकका अनुसार मेला कृषि क्षेत्रमा नवप्रवर्तन, ज्ञान आदानप्रदान र बजार प्रवर्द्धनका लागि महत्वपूर्ण अवसर बन्ने विश्वास गरिएको छ। आयोजक समितिले सबै कृषक तथा सरोकारवालालाई मेलामा सहभागी भई कार्यक्रमलाई सफल बनाउन अनुरोध गरेको छ।

Share this: