नक्कली कपालमा खतरनाक रसायन हुने भएकाले स्तन क्यान्सरदेखि प्रजनन समस्यासम्मको जोखिम

समाचार

नेपालसहित विश्वभर करोडौँ महिलाले प्रयोग गर्ने नक्कली कपाल (हेयर एक्सटेन्सन) मा स्वास्थ्यका लागि हानिकारक रसायन फेला परेको एक अध्ययनले देखाएको छ। ( American Chemical Society ) को जर्नलमा प्रकाशित उक्त अध्ययनले नक्कली कपाल प्रयोगले दीर्घकालीन गम्भीर स्वास्थ्य जोखिम निम्त्याउन सक्ने चेतावनी दिएको हो।

अध्ययनअनुसार परीक्षण गरिएका ४३ नमूनामा करिब १७० प्रकारका रसायन फेला परेका थिए, जसमध्ये ४८ रसायन ( United NationsEuropean Chemicals Agency ) को खतरा सूचीमा परेका छन्।

अध्ययनकी मुख्य लेखक (Alicia Franklin ) का अनुसार नक्कली कपाल टाउकोको छालामा हप्तौँ वा महिनौँसम्म टाँसिने भएकाले यसबाट हुने दीर्घकालीन असर निकै गम्भीर हुन सक्छ।

प्रतिवेदनअनुसार नमूनाहरूमा आगो निभाउने रसायन, कीटनाशक तथा प्रजनन क्षमतामा असर पार्ने ‘थ्यालेट’ यौगिकहरू फेला परेका छन्। साथै, स्तन क्यान्सरसँग सम्बन्धित १७ प्रकारका रसायन ३६ नमूनामा भेटिएको उल्लेख गरिएको छ। (BBC) ले अध्ययनलाई उद्धृत गर्दै यस्तो जानकारी सार्वजनिक गरेको हो।

अझ चकित पार्ने तथ्य के छ भने ‘प्राकृतिक’ भनेर चिनिने मानव रौँबाट बनेका महँगा कपालमा समेत कृत्रिम कपालभन्दा बढी हानिकारक रसायन भेटिएका छन्। अनुसन्धानकर्ताका अनुसार नक्कली कपाल तताउँदा वा उमालेको पानीमा डुबाउँदा निस्कने विषालु धुवाँ सासमार्फत शरीरभित्र पुग्न सक्छ भने छालासँगको प्रत्यक्ष सम्पर्कबाट पनि असर गर्न सक्छ।

विश्वव्यापी रूपमा नक्कली कपालको प्रयोग तीव्र रूपमा बढिरहेको छ। सन् २०२८ सम्ममा यसको बजार मूल्य १४ अर्ब डलरभन्दा बढी पुग्ने अनुमान गरिएको छ।

विशेषज्ञहरूले यस्तो उत्पादन प्रयोग गर्दा सावधानी अपनाउन, गुणस्तरीय सामग्री छनोट गर्न र लामो समयसम्म प्रत्यक्ष सम्पर्कमा नराख्न सुझाव दिएका छन्।

Share this: