वर्षा र हिमपातले किसानलाई राहत प्रदूषण घट्यो , आजबाट मौसममा सुधार

समाचार

देशका विभिन्न स्थानमा अस्ति र हिजो परेको वर्षा तथा हिमपातले किसानलाई ठूलो राहत पुगेको छ। चिस्यानको अभाव झेलिरहेका बेला चैतको पहिलो हप्तामै देशका धेरै ठाउँमा पानी परेपछि खेतीपातीमा सकारात्मक प्रभाव परेको हो।

उच्च पहाडी तथा हिमाली क्षेत्रमा परेको बाक्लो हिमपातले जनजीवन केही प्रभावित बनाए पनि यसले कृषिबालीमा आवश्यक चिस्यान थपेको छ। पर्याप्त पानी पुगेपछि अबको उत्पादनमा सुधार हुने किसानको अपेक्षा रहेको छ।

अस्ति शुक्रबार राति माथिल्लो मुस्ताङसहित मुक्तिनाथ क्षेत्र, ताप्लेजुङलगायतका जिल्लामा राम्रो हिमपात भएको छ। हिमपातका कारण खेतीयोग्य जमिन हिउँले ढाकिएका छन्।

जलवायु परिवर्तनका कारण पछिल्ला वर्षहरूमा अनुकूल समयमा हिमपात नहुँदा उच्च लेकका चरन क्षेत्रमा घाँस अभाव हुने समस्या देखिँदै आएको थियो। तर यस वर्षको हिमपातले चरन क्षेत्रलाई समेत फाइदा पुर्‍याउने अपेक्षा गरिएको छ, जसले स्थानीय पशुपालक किसानलाई राहत मिल्ने विश्वास छ।

हिमाली क्षेत्रमा विशेषगरी रैथाने उवा, जौँ, गहुँ र अलैँची उत्पादन हुने गर्छ। किसानहरूका अनुसार समयमै परेको हिउँले अन्नबाली तथा फलफूलखेतीमा लाग्ने रोग–कीराको सङ्क्रमण घटाउने भएकाले उत्पादनका लागि लाभदायक सावित हुन्छ।

त्यस्तै, वन डढेलो बढ्ने समयमै वर्षा भएपछि डढेलो नियन्त्रणमा आएको छ। काठमाडौँसहित प्रमुख शहरहरूमा यसअघि उच्च रहेको वायु प्रदूषण पनि घटेको छ। फागुन महिनामा विश्वकै प्रदूषित शहरको शीर्ष पाँचमा पर्दै आएको काठमाडौँमा वर्षापछि वायु गुणस्तरमा सुधार देखिएको हो।

आज बिहान काठमाडौँ विश्वको १६ औँ स्थानमा पुगेको छ भने हावाको गुणस्तर मापन सूचक (AQI) ८८ मापन गरिएको छ। आजदेखि मौसममा सुधार आउन थालेको मौसमविद्हरूले जनाएका छन्।

Share this: