लोपोन्मुख लाप्चा जातिको बसोबास रहेको क्षेत्रमा स्थानीय उत्पादन र विविध जातीय पहिचान झल्काउने खानाका परिकारहरूको दिगो बजार प्रवर्द्धन गर्ने उद्देश्यसहित ‘द लोकल मेलो’ नामक बजार सुरु गरिएको छ।
फिक्कलस्थित परिसरमा सुरु गरिएको यो बजारको पहिलो दिन शनिबार उत्साहजनक रूपमा सम्पन्न भएको आयोजकले जनाएको छ।
पहिलो दिन अर्गानिक तरकारी, डेरी उत्पादन, अचार, स्थानीय खाजा, चिया तथा हातले निर्माण गरिएका सजावटका सामग्रीहरू सहित ७ वटा स्टल सञ्चालनमा रहेका थिए। बजारमा स्थानीय उत्पादनलाई प्राथमिकता दिँदै उपभोक्तालाई ‘लोकल स्वाद’ चखाउने प्रयास गरिएको आयोजकको भनाइ छ।
आयोजकका अनुसार यो बजार हरेक शनिबार नियमित रूपमा सञ्चालन गरिनेछ। बजारको प्रभावकारिता बढ्दै गए थप व्यवस्थित गर्दै स्टल संख्या विस्तार गरिने योजना समेत रहेको छ।



स्थानीय उत्पादनको बजारीकरणसँगै रोजगारी र आयआर्जनमा टेवा पुर्याउने लक्ष्य राखिएको यस पहलले को पर्यटन प्रवर्द्धनमा समेत सहयोग पुग्ने विश्वास गरिएको छ।
कोशी प्रदेशको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा चिनिएको सूर्योदय नगरपालिकामा शिशा ब्रिज, साइक्लिङ, झुल्केघामको दृश्य अवलोकन, परम्परागत पोसाक लगाउने तथा घोडा चढ्ने लगायतका गतिविधिहरू उपलब्ध छन्। ‘द लोकल मेलो’ ले यी आकर्षणसँगै थप मनोरञ्जन र अनुभव प्रदान गर्ने अपेक्षा गरिएको छ।
स्थानीय उत्पादनलाई प्रोत्साहन गर्दै उपभोक्तालाई मौलिक स्वादसँग जोड्ने उद्देश्यले सुरु गरिएको यो बजारले आगामी दिनमा थप चहलपहल ल्याउने विश्वास लिइएको छ।
