रोङगाउँपालिकाको पहलमा गुन्द्रुकको राष्ट्रिय गुणस्तर मापदण्ड स्वीकृत

समाचार

लामो समयको प्रयास र पहलपछि गुन्द्रुकको खाद्य गुणस्तर मापदण्ड स्वीकृत भएको छ। खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले गुन्द्रुकका लागि आधिकारिक  Food Quality Standards  स्वीकृत गरेसँगै यस परम्परागत नेपाली खाद्य पदार्थले औपचारिक मान्यता प्राप्त गरेको हो।

रोङगाउँपालिकाले गुन्द्रुक ब्रान्डिङ गर्ने उद्देश्यसहित अनुज्ञा प्रमाणपत्र लिन जाँदा सुरुवातमा कुनै स्पष्ट मापदण्ड नभएको अवस्था भेटिएको थियो। त्यसपछि सम्बन्धित निकायसँग समन्वय गर्दै गुणस्तर मापदण्ड निर्माण प्रक्रिया अघि बढाइएको थियो। प्रारम्भिक अध्ययन तथा तथ्याङ्क संकलनका क्रममा कच्चा पदार्थको गुणस्तर, उत्पादन प्रक्रिया, रासायनिक तथा सूक्ष्मजीव सीमा, प्याकेजिङ र लेबलिङ जस्ता पक्षहरूको विस्तृत स्थलगत अध्ययन गरिएको थियो। 

यस पहलपछि अन्ततः गुन्द्रुकका लागि आवश्यक राष्ट्रिय मापदण्ड तयार भई स्वीकृत भएको हो। विज्ञहरूका अनुसार नेपालमा गुणस्तरअनुसार उत्पादन गरिएको गुन्द्रुक अझै सीमित मात्रामा पाइने भएकाले यो उपलब्धि महत्वपूर्ण मानिएको छ।

रोङगाउँपालिकाले गुणस्तरीय कृषि उत्पादनलाई प्रवर्द्धन गर्दै स्थानीय उत्पादनलाई बजारमा स्थापित गर्ने लक्ष्य राखेको जनाएको छ। यस सन्दर्भमा स्थानीय नेतृत्वले गुणस्तरहीन उत्पादनसँग तुलना गर्दै गुणस्तरीय गुन्द्रुकको मूल्यमा अनावश्यक टिप्पणी नगर्न आग्रह गरेको छ।

रोङगाउँपालिकाका अध्यक्ष मनिकुमार स्याङ्बो सुवासले यस उपलब्धिलाई ऐतिहासिक भन्दै सम्पूर्ण नेपाली किसान तथा सरोकारवालाहरूलाई हार्दिक बधाई दिएका छन्।

Share this: