चियाबारी पदमार्ग निर्माणको सार्वजनिक लेखापरीक्षण सम्पन्न, ५५ प्रतिशत काम सकियो

समाचार

बिक्रम सुन्दास : फिक्कल ,इलाम

पर्यटनमा आधारित पर्यटन विकास परियोजनाअन्तर्गत सूर्योदय नगरपालिकामा निर्माणाधीन चियाबारी पदमार्ग परिधीय संरचनाको आर्थिक वर्ष २०८२ ८३ को सार्वजनिक लेखापरीक्षण तथा सार्वजनिक सुनुवाइ सम्पन्न भएको छ। स्थानीय, प्रदेश, संघीय तथा स्वीस सरकारको संयुक्त लागत साझेदारीमा निर्माण भइरहेको यस परियोजनालाई सूर्योदय नगरपालिकाको पर्यटन विकाससँगै स्थानीय रोजगारी र ग्रामीण अर्थतन्त्रलाई सुदृढ बनाउने महत्त्वपूर्ण योजनाका रूपमा हेरिएको छ।

उपभोक्ता समिति अध्यक्ष कृष्णबहादुर खड्काको अध्यक्षता तथा सूर्योदय नगरपालिकाका कार्यवाहक नगरप्रमुख दुर्गाकुमार बरालको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा वडा नं. ८ का अध्यक्ष जंगबहादुर गुरुङ, नगरपालिकाको योजना शाखा प्रमुख खेमराज राई, वडा सदस्य पदम गिरी, कार्यपालिका सदस्य चन्द्रकला परियार, परियोजनाका प्राविधिक, उपभोक्ता समितिका पदाधिकारी तथा स्थानीयवासीको उल्लेख्य सहभागिता रहेको थियो।

कार्यक्रममा प्रमुख अतिथि बरालले पर्यटनमा आधारित पूर्वाधार विकासले ग्रामीण अर्थतन्त्रलाई चलायमान बनाउने विश्वास व्यक्त गर्दै परियोजनामा स्थानीय सरकारको २२ प्रतिशत, प्रदेश सरकारको २२ प्रतिशत, संघीय सरकारको ५ प्रतिशत र स्वीस सरकारको ५१ प्रतिशत लागत साझेदारी रहेको जानकारी दिनुभयो। उहाँले यस्ता योजनाले पर्यटन प्रवर्द्धनसँगै रोजगारी सिर्जना, स्थानीय उत्पादनको बजारीकरण तथा आयआर्जन वृद्धि गर्ने भएकाले नगरपालिकाले नियमित रूपमा अनुगमन र मूल्याङ्कन गरिरहेको बताउनुभयो। स्थानीय समुदायको प्रत्यक्ष सहभागितामा सञ्चालन हुने योजनाहरू दीगो र प्रभावकारी हुने उहाँको भनाइ थियो।

वडा नं. ८ का अध्यक्ष जंगबहादुर गुरुङले पदमार्गको अधिकांश भाग वडा नं. ८ भित्र पर्ने भएकाले भविष्यमा यस क्षेत्रको पर्यटन गतिविधि, व्यापार व्यवसाय तथा स्थानीयको आयआर्जनमा उल्लेखनीय वृद्धि हुने अपेक्षा व्यक्त गर्नुभयो। उहाँले निर्माण कार्यमा खटिएका उपभोक्ता समिति, स्थानीय श्रमिक तथा सरोकारवालाप्रति धन्यवाद पनि व्यक्त गर्नुभयो।

नगरपालिकाका योजना शाखा प्रमुख खेमराज राईले स्थानीय श्रम र स्थानीय स्रोत–साधनको उपयोगबाट निर्माण भइरहेको पदमार्गले स्वरोजगारका अवसर सिर्जना गरेको बताउनुभयो। पदमार्गको प्रभावकारी प्रचारप्रसारका लागि विश्वका छ वटा भाषामा जानकारी उपलब्ध हुने गरी विभिन्न स्थानमा क्यूआर (QR) कोड जडान गर्ने तयारी भइरहेको जानकारी पनि उहाँले दिनुभयो। यसले विदेशी पर्यटकलाई पदमार्ग, स्थानीय संस्कृति, प्राकृतिक सम्पदा तथा सेवा–सुविधाबारे सहज जानकारी प्राप्त गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ।

उपभोक्ता समिति अध्यक्ष कृष्णबहादुर खड्काका अनुसार हालसम्म परियोजनाको ५५ प्रतिशत निर्माण कार्य सम्पन्न भइसकेको छ भने बाँकी ४५ प्रतिशत काम आगामी असोज महिनाभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ।

समिति सचिव पेमा लाप्चा लामाले सार्वजनिक गरेको प्रगति प्रतिवेदनअनुसार कन्याम ग्लास ब्रिजबाट चेनेज २ं+६०० देखि ६ं-०७० सम्मको पदमार्ग निर्माणका लागि ६८ लाख ७४ हजार ६१८ रुपैयाँ ६८ पैसा लागतमा कार्य सम्पन्न गर्ने गरि सम्झौता गरिएको थियो । हालसम्म ३६ लाख रुपैयाँभन्दा बढी बराबरको निर्माण कार्य सम्पन्न भएको प्रतिवेदनमा उल्लेख गरिएको छ।

परियोजनाकी प्राविधिक सरला नेपालीका अनुसार पदमार्गअन्तर्गत ढुंगे सिँढी, हावाघर, पोखरी, फलैँचा विश्रामस्थल०, सुरक्षा संरचना तथा अन्य पर्यटकीय पूर्वाधार निर्माणको काम भइरहेको छ। निर्माण सम्पन्न भएपछि पदमार्गलाई सुरक्षित, व्यवस्थित र पर्यटकमैत्री बनाउने लक्ष्य रहेको उहाँले बताउनुभयो।

यो पदमार्ग कन्यामस्थित साइकल शिसाको पुल (ग्लास ब्रिज) बाट सुरु भई अन्तु–गुफापातालसम्म करिब २५.५ किलोमिटर लम्बाइमा विस्तार हुनेछ। पदमार्गले सूर्योदय नगरपालिका वडा नं. ८, वडा नं. ९ हुँदै वडा नं। ४ सम्मका चियाबगान, प्राकृतिक दृश्य, धार्मिक तथा सांस्कृतिक सम्पदालाई एउटै पर्यटन मार्गमा जोड्ने अपेक्षा गरिएको छ।

यसै परियोजनाअन्तर्गत कजिनी क्षेत्रको उपभोक्ता समितिले पनि सोही दिन सार्वजनिक सुनुवाइ सम्पन्न गरेको छ। कजिनी गुम्बामा आयोजित कार्यक्रममा समिति अध्यक्ष रमेश प्रधानले प्रगति प्रतिवेदन प्रस्तुत गर्दै १३ लाख ४४ हजार २४ रुपैयाँ लागतको योजनामध्ये हालसम्म ७ लाख ७ हजार ३०० रुपैयाँ बराबरको निर्माण कार्य सम्पन्न भएको जानकारी दिनुभयो।

                                                                             

 

समग्र परियोजना स्थानीय सरकार, प्रदेश सरकार, संघीय सरकार र स्वीस सरकारको संयुक्त लागत साझेदारीमा  एक करोड रुपैयाँभन्दा बढी लागतमा सञ्चालन भइरहेको छ। परियोजना सम्पन्न भएपछि कन्याम-अन्तु-गुफापाताल क्षेत्रलाई जोड्ने नयाँ पर्यटकीय पदमार्गका रूपमा विकास हुने, पर्यटकको बसाइ अवधि लम्बिने, स्थानीय होटल, होमस्टे, कृषि उत्पादन, हस्तकला तथा अन्य साना व्यवसायले प्रत्यक्ष लाभ लिने अपेक्षा गरिएको छ। स्थानीयवासीले पनि यस परियोजनालाई सूर्योदय नगरपालिकाको पर्यटन विकासमा दीर्घकालीन उपलब्धि दिलाउने योजनाका रूपमा लिएका छन्।

Share this: