इलामको विकास र ‘इलाममा उत्पादित वस्तुको ब्रान्ड’ प्रवर्द्धनका लागि रास्वपा सभापति महतको पहल

समाचार

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) इलामले जिल्लाको दीर्घकालीन पूर्वाधार विकास तथा स्थानीय उत्पादनको प्रवर्द्धनका लागि संघीय सरकारसमक्ष विभिन्न माग राख्दै सम्बन्धित मन्त्रीहरूलाई ध्यानाकर्षण गराएको छ।

रास्वपा इलामका सभापति दिनेश महतका अनुसार मेची राजमार्गको दीर्घकालीन वैकल्पिक मार्गका रूपमा सिमलगोलाई–तिलकेनी १२ किलोमिटर सडक निर्माण, जोगमाई खोलामा पक्की पुल निर्माण, उक्त सडकलाई राष्ट्रिय सडक सञ्जालमा समावेश गर्ने, साथै इलामका विभिन्न स्थानीय तहमा अत्यावश्यक सडक, पुल, खानेपानी तथा अन्य पूर्वाधार योजनाका लागि आवश्यक बजेट विनियोजन गरी शीघ्र कार्यान्वयन गर्न पूर्वाधार विकास मन्त्री सुनिल लम्सालसमक्ष आग्रह गरिएको हो।

भेटका क्रममा मन्त्री लम्सालले इलामका प्राथमिकतामा रहेका योजनाहरूका लागि आवश्यक बजेट विनियोजन गरी समस्या समाधानतर्फ पहल गर्ने प्रतिबद्धता व्यक्त गरेको सभापति महतले जानकारी दिए।

यसैगरी रास्वपा इलामले कृषि तथा पशुपन्छी विकास मन्त्रीसमक्ष इलाममा उत्पादित अर्गानिक चिया तथा दुग्धजन्य उत्पादनलाई ‘इलाम ब्रान्ड’ का रूपमा विकास गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा प्रवर्द्धन गर्न विशेष कार्यक्रम सञ्चालन गर्न माग गरेको छ।

मन्त्रालयलाई बुझाइएको ध्यानाकर्षण पत्रमा इलाममा उत्पादन हुने अर्गानिक चिया तथा दूधबाट बन्ने छुर्पी, चिज, घिउ, दही, पनिर, कुराउनी, ललिपप, बम्बाइसनलगायतका परिकारको संरक्षण, ब्रान्डिङ, बजारीकरण र सरकारी प्रयोगलाई प्राथमिकता दिनुपर्ने उल्लेख गरिएको छ। 

                                                                     

पत्रमा इलामभित्रका सरकारी कार्यालय, सार्वजनिक निकाय तथा स्थानीय तहले स्थानीय अर्गानिक चिया र दुग्धजन्य उत्पादन खरिद तथा प्रयोगलाई प्राथमिकता दिनुपर्ने, सरकारी बैठक, गोष्ठी, तालिम तथा औपचारिक कार्यक्रममा चिसो पेयको सट्टा इलामको चिया र स्थानीय दूधबाट बनेका पेय पदार्थ प्रयोग गर्नुपर्ने तथा अतिथि सत्कारमा स्थानीय दुग्धजन्य परिकारलाई प्राथमिकता दिनुपर्ने माग गरिएको छ।

त्यसैगरी स्थानीय चिया उद्योग, दुग्ध सहकारी, किसान तथा उद्यमीसँग समन्वय गरी सरकारी कार्यालयहरूले आवश्यक चिया तथा दुग्धजन्य सामग्री स्थानीय उत्पादनबाट नै खरिद गर्ने व्यवस्था मिलाउन तथा ‘इलाम ब्रान्ड’ लाई राष्ट्रिय र अन्तर्राष्ट्रिय बजारमा स्थापित गर्न विशेष कार्यक्रम सञ्चालन गर्न पनि आग्रह गरिएको छ।

रास्वपा इलामका सभापति महतले स्थानीय उत्पादनको सरकारी प्रयोग र प्रभावकारी ब्रान्डिङले किसानको आय वृद्धि, रोजगारी सिर्जना, स्थानीय उद्योगको प्रवर्द्धन तथा इलामको मौलिक पहिचानलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा स्थापित गर्न महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेका छन्।

Share this: