नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत इलाम क्षेत्र नम्बर १ प्रदेश सभा ‘ख’ को प्रदेश सभा सहसचिव पदमा युवा तथा सामाजिक अभियन्ता बिमल कट्टेलले उम्मेदवारी दर्ता गराएका छन्। १५ औँ महाधिवेशन पार्टीको संगठन सुदृढीकरण, नेतृत्व विकास र आगामी राजनीतिक दिशाका दृष्टिले महत्वपूर्ण अवसर भएको बताउँदै कट्टेलले पार्टीभित्र नीति, विचार, एकता र सशक्त नेतृत्व आजको आवश्यकता रहेको धारणा राखेका छन्।
उनले अग्रजको अनुभव र युवाको ऊर्जा तथा सिर्जनशीलतालाई समेटेर कांग्रेसलाई थप गतिशील र जनमुखी बनाउन आफ्नो भूमिका रहने बताएका छन्। राजनीतिक तथा विद्यार्थी संगठनको गतिविधिमा लामो समयदेखि सक्रिय कट्टेलले २०७१ सालमा शान्तिपुर माध्यमिक विद्यालयको नेपाल विद्यार्थी संघ नेविसंघ सदस्यका रूपमा आफ्नो राजनीतिक यात्रा सुरु गरेका थिए। त्यसपछि २०७९ भदौ १ गते कनकाई आदर्श क्याम्पस, बिर्तामोडको नेपाल विद्यार्थी संघ सचिवको जिम्मेवारी सम्हालेका उनले विद्यार्थी राजनीतिमा सक्रिय भूमिका निर्वाह गर्दै आएका छन्।

२०७९ चैत ५ गते सम्पन्न स्वतन्त्र विद्यार्थी युनियन स्ववियु निर्वाचनमा कनकाई आदर्श क्याम्पसबाट नेपालकै सबैभन्दा ठूलो मतान्तरमा विजयी भएको कट्टेलको दाबी छ। विद्यार्थी राजनीतिसँगै नेपाली कांग्रेसको सक्रिय सदस्यका रूपमा पार्टीका विभिन्न गतिविधिमा निरन्तर सहभागी हुँदै आएका उनी २०८३ असोज ७ गते पार्टीको क्षेत्रीय प्रतिनिधिमा निर्वाचित भएका हुन्। पार्टी राजनीतिसँगै विभिन्न सामाजिक संघ–संस्थामा समेत आबद्ध रहँदै सामाजिक गतिविधिमा सक्रिय कट्टेलले पार्टी संगठनलाई थप मजबुत बनाउने उद्देश्यसहित प्रदेश सभा सहसचिव पदमा उम्मेदवारी दिएको बताएका छन्।
असोज १४ गते हुने निर्वाचनमा इलाम क्षेत्र नम्बर १ का नेपाली कांग्रेसका क्षेत्रीय प्रतिनिधिहरूले आफूलाई विश्वास गरी मत दिने र विजयी गराउनेमा आफू विश्वस्त रहेको कट्टेलले बताएका छन्। निर्वाचित भएपछि पार्टी संगठनलाई थप व्यवस्थित बनाउँदै युवाको सहभागिता बढाउने तथा सामाजिक सरोकारका विषयलाई पार्टीको प्राथमिकतासँग जोडेर अघि बढ्ने उनको प्रतिबद्धता छ।
