इलामको रोङ गाउँपालिकाले गाउँपालिका भित्रका पूर्ण अपाङ्गता भएका व्यक्ति र विपन्न सुत्केरीलाई निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने भएको छ। ग्रामीण क्षेत्रका नागरिकलाई सहज र सुलभ स्वास्थ्य सेवा पुर्याउने उद्देश्यले गाउँपालिकाले यस्तो व्यवस्था गर्न लागेको हो।
गैरआवासीय सलकपुर समाज रोङ–६ ले एम्बुलेन्स सञ्चालनका लागि गाउँपालिकालाई हस्तान्तरण गरेपछि पालिकाले तत्कालै एउटा एम्बुलेन्स सेवा सञ्चालन गर्ने तयारी गरेको हो। गाउँपालिका अध्यक्ष मनिकुमार स्याङ्बोका अनुसार पहिलो चरणमा पूर्ण अपाङ्गता भएका व्यक्ति र विपन्न सुत्केरीलाई निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराइनेछ।
सेवा सञ्चालनका लागि आवश्यक कानुनी प्रक्रिया र मापदण्ड तयार भइरहेको अध्यक्ष स्याङ्बोले जानकारी दिनुभयो। उहाँले भन्नुभयो, “हामी केही कानुनी प्रक्रिया मिलाउँदै छौँ। आवश्यक प्रक्रिया र मापदण्ड पूरा गरेर पहिलो चरणमा लक्षित समूहका लागि निःशुल्क एम्बुलेन्स सेवा सञ्चालन गर्ने तयारीमा छौँ।”
गाउँपालिकाले निःशुल्क एम्बुलेन्स सेवा लिन सम्बन्धित टोल विकास संस्थाको सिफारिस अनिवार्य गर्ने योजना बनाएको छ। टोल विकास संस्थाले आयोजना गर्ने श्रमदानमा नागरिकको सहभागितालाई समेत आधार मानेर एम्बुलेन्स निःशुल्क प्रयोगका लागि सिफारिस गर्ने अवधारणा गाउँपालिकाले अघि सारेको छ।
अध्यक्ष स्याङ्बोका अनुसार गाउँपालिकाले एम्बुलेन्स सञ्चालनसम्बन्धी कार्यविधि पनि तयार गरिरहेको छ। हाल प्राप्त एउटा एम्बुलेन्सले मात्र सबै नागरिकलाई सेवा दिन कठिन हुने भएकाले गाउँपालिकाले थप एउटा एम्बुलेन्स खरिद गर्ने योजना बनाएको छ। नयाँ एम्बुलेन्स खरिदका लागि विभिन्न संघसंस्था, व्यवसायी तथा दाताहरूसँग आर्थिक सहयोग जुटाउने योजना समेत अघि बढाइएको उहाँले बताउनुभयो।
यसैबीच, रोङ गाउँपालिकाले प्रत्येक वर्ष रोगको खोजी अभियान सञ्चालन गर्दै आएको छ। अभियानअन्तर्गत गाउँपालिकाका ६ वटै वडामा विशेषज्ञ चिकित्सकसहित निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुँदै आएका छन्।
एम्बुलेन्स सेवा विस्तार र लक्षित वर्गलाई निःशुल्क सेवा उपलब्ध गराउने गाउँपालिकाको योजनाले ग्रामीण क्षेत्रका नागरिक, विशेषगरी स्वास्थ्य संस्थासम्म पुग्न कठिनाइ भोगिरहेका अपाङ्गता भएका व्यक्ति र विपन्न सुत्केरीलाई राहत पुग्ने अपेक्षा गरिएको छ।
