रोङ स्थित पाथीभारा मन्दिरको पुरानो समितिको असुलउपरमा प्रशासन कार्यलय इलामको सुस्तता

समाचार

इलामको रोङ गाउँपालिका–३ कुट्टीडाँडास्थित सानो पाथीभरा मन्दिरमा भएको भनिएको आर्थिक अनियमितताको छानबिन प्रक्रिया सुस्त बनेको छ। मन्दिरको पूर्व व्यवस्थापन समितिको कार्यकालमा देखिएको ८८ लाखभन्दा बढी बेरुजु रकम असुलउपरमा जिल्ला प्रशासन कार्यालयले ढिलाइ गरेको आरोप लागेको हो।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको निर्देशनपछि प्रशासनले सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा छानबिन समिति तथा सडक डिभिजन कार्यालयका इन्जिनियर चन्द्रेश्वर शाहको संयोजकत्वमा प्राविधिक उपसमिति गठन गरेको थियो। तर उपसमितिले अपेक्षित रूपमा काम नगरेको भन्दै रोङ गाउँपालिकाले असन्तुष्टि जनाएको छ।

गाउँपालिका अध्यक्ष मनिकुमार स्याङ्बोले अनियमितताको स्पष्ट प्रमाण हुँदाहुँदै पनि सत्यतथ्य बाहिर ल्याउन ढिलाइ भइरहेको बताए। यता प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले भने छानबिन प्रक्रिया जारी रहेको दाबी गरेका छन्।

उच्च अदालत विराटनगरको इलाम इजलासले २०८२ असोज २९ गते पुनः छानबिन गर्न आदेश दिएपछि नयाँ समिति गठन भए पनि काम प्रभावकारी रूपमा अघि बढ्न सकेको छैन। यसबीच, गाउँपालिकाले मन्दिर व्यवस्थापन सम्हालेपछि आम्दानी र पारदर्शितामा सुधार आएको जनाएको छ।

Share this: