तेस्रो इलाम गोल्कपमा पूर्वाञ्चल एफसी मोरङको विजयी यात्रा शुरु

खेलकुद

तेस्रो इलाम गोल्डकप फुटबल प्रतियोगिता आज इलामको प्रतिष्ठित टुँडिखेल मैदानमा उत्साहजनक माहोलका बीच सुरु भएको छ। उद्घाटन खेलमै दर्शकहरूले निकै रोमाञ्चक र प्रतिस्पर्धात्मक खेल हेर्न पाए। पहिलो खेलमा आयोजक रेडहर्स एफसी इलाम र पूर्वाञ्चल एफसी मोरङबीच प्रतिस्पर्धा भएको थियो।

खेलको सुरुवातदेखि नै आक्रामक रूपमा प्रस्तुत भएको रेडहर्सले उत्कृष्ट प्रदर्शन गर्दै सुरुआतमै अग्रता बनाएको थियो। खेल सुरु भएको मात्र दोस्रो मिनेटमै रेडहर्सका जर्सी नम्बर २८ का सन्देश खतिवडाले शानदार गोल गर्दै टोलीलाई १–० को अग्रता दिलाएका थिए।

पहिलो हाफभर रेडहर्सले खेलमा नियन्त्रण कायम राख्दै दबाब सिर्जना गरिरह्यो र पहिलो हाफ १–० को अग्रतामै सकियो। दोस्रो हाफमा पूर्वाञ्चल एफसी मोरङले खेलमा फर्किन प्रयास गर्दै केही अवसरहरू सिर्जना गरे पनि रेडहर्सको मजबुत डिफेन्स र गोलकिपरको उत्कृष्ट प्रदर्शनका कारण गोल गर्न सकेन। खेल अन्त्यतिर रेडहर्सको जित सुनिश्चितजस्तै देखिएको थियो। तर, अतिरिक्त समयमा खेलले नाटकीय मोड लियो।

पूर्वाञ्चल एफसी मोरङका जर्सी नम्बर ९ का सूर्य राउतले महत्वपूर्ण गोल गर्दै खेललाई १–१ को बराबरीमा पुर्‍याए। निर्धारित समय १–१ को बराबरीमा सकिएपछि खेलको निर्णय ट्राइब्रेकरमार्फत गरिएको थियो।

ट्राइब्रेकरमा पूर्वाञ्चल एफसी मोरङले उत्कृष्ट प्रदर्शन गर्दै ४–२ ले जित निकाल्दै प्रतियोगितामा विजयी सुरुवात गरेको छ। खेलमा उत्कृष्ट प्रदर्शन गरेका मोरङका खेलाडी आसिस लावती ‘म्यान अफ द म्याच’ घोषित भए। उनले नगद ८ हजार रुपैयाँ पुरस्कार प्राप्त गरेका छन्। प्रतियोगिताको पहिलो दिनमै दर्शकहरूको उल्लेखनीय उपस्थिति देखिएको थियो।

स्थानीय खेलप्रेमीहरूको उत्साहजनक साथले खेललाई थप जीवन्त बनाएको थियो। भोलि फिदिम स्पोर्टिङ क्लब र रोलिङ क्लबबीच प्रतिस्पर्धा हुनेछ भने पर्सि मच्छिन्द्र फुटबल क्लब र एन पेनाङ आमनेसामने हुनेछन्। अन्तिम क्वार्टरफाइनल खेलमा डिफेन्डिङ च्याम्पियन न्यु रोड टिम (एनआरटी) र चित्लाङ फुटबल क्लब भिड्ने तालिका रहेको छ।

प्रतियोगिताको विजेताले नगद १० लाख रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले ५ लाख रुपैयाँ पाउनेछ। व्यक्तिगततर्फ सर्वोत्कृष्ट खेलाडीलाई ५१ हजार रुपैयाँ, सर्वाधिक गोलकर्तालाई २५ हजार रुपैयाँ प्रदान गरिनेछ।

उत्कृष्ट गोलकिपर, डिफेन्डर, मिडफिल्डर र प्रशिक्षकलाई जनही १५ हजार रुपैयाँ तथा प्रत्येक खेलको ‘म्यान अफ द म्याच’ लाई ८ हजार रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ।

Share this: