रोङ ,इलाम : गोविन्द पौडेल
इलामको सूर्योदय नगरपालिका र रोङ गाउँपालिकाबीच बहने सिद्धिखोलामा निर्माणाधीन सिद्धि जलविद्युत आयोजनाबाट उत्पादित विद्युत सफल परीक्षणपछि राष्ट्रिय प्रसारण लाइन ग्रिडमा जडान गरिएको छ।
सिद्धि हाइड्रोपावर कम्पनीको प्रवर्द्धनमा निर्माण गरिएको उक्त आयोजनाको परीक्षण प्रसारण गत चैत १६ गते सम्पन्न गरिएको हो। कम्पनीका प्रतिनिधि सरोज पौडेलका अनुसार आयोजनाबाट उत्पादित विद्युत इलामको लसुनेस्थित सबस्टेसनमार्फत राष्ट्रिय ग्रिडमा जोडिएको हो।
१० मेगावाट क्षमताको यस आयोजनामा सिटिजन्स बैंकको एकल ऋण लगानी रहेको छ। आयोजनाको प्रति मेगावाट लागत करिब २१ करोड रुपैयाँ रहेको कम्पनीले जनाएको छ।
रोङ गाउँपालिका–६ र सूर्योदय नगरपालिका–५ को सिमाना पर्ने खरवनी पम्पले क्षेत्रमा हेड ट्याङ्क निर्माण गरिएको छ भने करिब साढे तीन किलोमिटर लामो पाइपलाइनमार्फत तातोपानीस्थित पावर हाउसमा पानी पुर्याएर विद्युत उत्पादन गरिन्छ।

२०८० साल असोजदेखि निर्माण सुरु गरिएको आयोजनालाई प्रारम्भिक रूपमा गत मंसिरभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको थियो। तर, गत असोज १८ र १९ गते आएको बाढी–पहिरोका कारण आयोजनामा करिब ५० करोड रुपैयाँ बराबरको क्षति पुगेको र निर्माण कार्य करिब ६ महिना ढिलो भएको कम्पनीले जनाएको छ।
प्राकृतिक विपत्तिका चुनौती पार गर्दै उत्पादन सुरु गरेको यस आयोजनाले स्थानीय तथा राष्ट्रिय ऊर्जा आपूर्तिमा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।
