प्राचीन खगोलशास्त्रमा उत्कृष्टता हासिल गर्दै इलामका गोविन्द सापकोटालाई दुई स्वर्णपदक

समाचार

सम्पूर्णानन्द संस्कृत विश्वविद्यालय, वाराणसीको ४४ औँ दीक्षान्त समारोहमा इलाम नगरपालिका–५, बरबोटे निवासी ज्योतिषाचार्य गोविन्द सापकोटाले प्राचीन खगोलशास्त्र (सिद्धान्त ज्योतिष) विषयमा सर्वाधिक अंक प्राप्त गर्दै दुई स्वर्णपदक हासिल गरेका छन्।

भारतमा शुक्रबार आयोजित दीक्षान्त समारोहमा सापकोटालाई उक्त उपलब्धिका लागि स्वर्णपदक प्रदान गरिएको हो। प्राचीन खगोलशास्त्र  (सिद्धान्त ज्योतिष) विषयमा उत्कृष्ट शैक्षिक प्रदर्शन गर्दै उनले विश्वविद्यालयस्तरमै सर्वोच्च अंक प्राप्त गरेका हुन्।

ग्रामिण परिवेशमा जन्मिएका सापकोटाले कक्षा १२ सम्मको अध्ययन नेपालकै सरकारी विद्यालयबाट पूरा गरेका थिए। उच्च शिक्षाको उद्देश्यसहित करिब आठ वर्षअघि भारत पुगेका उनी बनारसलगायत विभिन्न शैक्षिक केन्द्रमा अध्ययनरत रहँदै ज्योतिषशास्त्रमा निरन्तर उत्कृष्टता हासिल गर्दै आएका छन्।

ज्योतिषशास्त्रको अध्ययन र अनुसन्धानमा आफ्नो क्षमता प्रमाणित गर्दै आएका सापकोटा अहिले यस क्षेत्रमा प्रतिभाशाली युवा विद्वानका रूपमा परिचित बन्न सफल भएका छन्। करिब २८–३० वर्षको उमेरमै दुई स्वर्णपदक प्राप्त गर्न सफल हुनु व्यक्तिगत उपलब्धिमा मात्र सीमित नभई इलाम जिल्लासहित समग्र नेपालकै लागि गर्वको विषय बनेको छ।

उहाँको यस सफलताले ग्रामीण क्षेत्रका विद्यार्थीले पनि लगन, मेहनत र निरन्तर अध्ययनमार्फत अन्तर्राष्ट्रिय शैक्षिक मञ्चमा उत्कृष्टता हासिल गर्न सक्ने सशक्त सन्देश दिएको छ। सापकोटाको उपलब्धिप्रति इलामवासी तथा शुभेच्छुकहरूले बधाई तथा शुभकामना व्यक्त गरेका छन्।

Share this: