सूर्योदय नगरपालिकामा तीनदिने व्यावसायिक पत्रकारिता क्षमता अभिवृद्धि तालिम सुरु

समाचार

इलामको सूर्योदय नगरपालिकामा तीनदिने व्यावसायिक पत्रकारिता क्षमता अभिवृद्धि तालिम सुरु भएको छ। पत्रकारहरूको सीप, दक्षता र व्यावसायिक क्षमता विकास गर्ने उद्देश्यले नगरपालिकाको सहयोग तथा नेपाल पत्रकार महासंघ इलामको आयोजनामा तालिम सञ्चालन गरिएको हो।

तालिमको उद्घाटन गर्दै कार्यवाहक नगरप्रमुख दुर्गाकुमार बराल ले पत्रकारहरूको क्षमता विकासका लागि नगरपालिकाले तालिम आयोजना गरेको बताउनुभयो। उहाँले सुशासन, पारदर्शिता र विकासका कार्यलाई प्रभावकारी बनाउन पत्रकारको भूमिका महत्वपूर्ण हुने उल्लेख गर्दै सरकारका कमी–कमजोरीलाई सुधारका लागि तथ्यगत रूपमा उजागर गर्न पत्रकारहरूलाई आग्रह गर्नुभयो। नगरपालिकाका कामकारबाहीमा कमजोरी देखिए खुलस्त रूपमा उठाउन पनि उहाँले अनुरोध गर्नुभयो।

कार्यक्रमका अध्यक्ष भिम चापागाईले नगरपालिकाले सञ्चालन गरेको यस्तो तालिमले दक्ष पत्रकार उत्पादन तथा पत्रकारहरूको क्षमता अभिवृद्धिमा महत्वपूर्ण योगदान पुर्यारउने विश्वास व्यक्त गर्नुभयो। तालिममा जिल्लाका विभिन्न सञ्चारमाध्यममा आबद्ध ४० जना पत्रकारहरूको सहभागिता रहेको छ।

पहिलो दिनको प्रशिक्षण सत्रमा विप्लव भट्टराई र सुनिता खालिङ ले पत्रकारिताका विभिन्न विषयमा सहजीकरण तथा प्रशिक्षण प्रदान गर्नुभएको थियो। तीन दिनसम्म सञ्चालन हुने तालिममा समाचार लेखन, सञ्चार नैतिकता, डिजिटल पत्रकारिता तथा व्यावसायिक पत्रकारितासम्बन्धी विषयमा प्रशिक्षण दिइने आयोजकले जनाएको छ।

Share this: