इलामको सूर्योदय नगरपालिका-८ पालटाँगेस्थित शनि मोटरसाइकल एण्ड टिभिएस सोरुम रहेको घरमा ग्यास सिलिन्डरबाट आगलागी हुँदा एक जना गम्भीर घाइते भएका छन्।
आगलागीमा जनकपुर घर भएका ३० वर्षीय सांसद खान घाइते भएका हुन्। स्थानीय विकास न्यौपानेका अनुसार ग्यास सिलिन्डरबाट सुरु भएको आगो निभाउने क्रममा खानको अनुहार, हात तथा शरीरका विभिन्न भाग जलेका छन्।
आगलागीका कारण घरभित्र रहेका कोठा, लत्ताकपडा, अन्नपात, ढोका लगायतका सामग्रीमा समेत क्षति पुगेको बताइएको छ।
घाइते खानलाई प्रारम्भिक उपचारका लागि नगर अस्पताल फिक्कल लगिएको थियो। त्यहाँ उपचार सम्भव नभएपछि उनलाई बी एण्ड सी अस्पताल झापा रेफर गरिएको थियो। बी एण्ड सी अस्पतालमा पनि थप उपचार सम्भव नभएपछि उनलाई काठमाडौं लगिएको स्थानीय न्यौपानेले जानकारी दिनुभयो।
घटनाको जानकारी प्राप्त हुनासाथ फिक्कल प्रहरी चौकीबाट प्रहरी टोली घटनास्थल पुगेको थियो। प्रहरीले घटनाको मुचुल्का तयार गरी आगलागीको कारण र क्षतिको विवरणबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।
