इलामको रोङमा तीन दिने विपद् व्यवस्थापन तालिम सम्पन्न

समाचार

बिक्रम सून्दास : फिक्कल , इलाम 

इलामको रोङ गाउँपालिकामा तीन दिने विपद् व्यवस्थापनसम्बन्धी तालिम सम्पन्न भएको छ। टेवा समूहको आर्थिक सहयोग, रोङ गाउँपालिकाको समन्वय तथा सहयात्रा नेपाल इलामको आयोजनामा तालिम सञ्चालन गरिएको हो।

तालिममा रोङ गाउँपालिकाका ६ वटै वडाबाट प्रतिनिधिमूलक रूपमा युवाहरूको सहभागिता रहेको थियो। विपद् तथा भैपरी आउने घटनाका समयमा कसरी सुरक्षित रूपमा काम गर्ने, उद्धार तथा व्यवस्थापनका क्रममा अपनाउनुपर्ने सावधानीलगायतका विषयमा तालिममार्फत जानकारी दिइएको सहभागीहरूले बताएका छन्।

तालिमका सहभागीहरूले विपद् व्यवस्थापनसम्बन्धी आधारभूत ज्ञान र सीप प्रत्येक नागरिकलाई आवश्यक रहेको भन्दै सरकारले यस्ता तालिमलाई व्यापक बनाउनुपर्ने बताएका छन्। उनीहरूले तीन दिनको तालिमभन्दा कम्तीमा सात दिनको तालिम सञ्चालन गर्न सकेमा प्रयोगात्मक तथा व्यावहारिक सीप हासिल गर्न थप प्रभावकारी हुने धारणा राखेका छन्।

तालिमको समापन गर्दै रोङ गाउँपालिका अध्यक्ष मनिकुमार स्याङ्बो ‘सुवास’ले तालिममा सिकेका ज्ञान र सीपलाई गाउँ–समुदायमा पुर्‍याउन सहभागीहरूलाई आग्रह गर्नुभयो। उहाँले प्रत्येक नागरिकलाई सुरक्षित र संयमित बनाउनु सरकारको दायित्वभित्र पर्ने भए पनि सीमित स्रोतसाधनका कारण पर्याप्त काम गर्न नसकिएको बताउनुभयो।

अध्यक्ष स्याङ्बोले हाल उपलब्ध संयन्त्रलाई अझ प्रभावकारी बनाउँदै लैजानुपर्नेमा जोड दिँदै आगामी दिनमा पनि विपद् व्यवस्थापनसम्बन्धी थप तालिम सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

तालिमको समापन कार्यक्रम आयोजक संस्था सहयात्रा नेपालकी हेमकुमारी शिवाको अध्यक्षतामा सम्पन्न भएको थियो। तालिममा प्राविधिक सहजीकरण सशस्त्र प्रहरी बल इलामका इन्स्पेक्टर योगहाङ पतङ्गा लिम्बूको टोलीले गरेको थियो।

विभिन्न क्षेत्रका व्यक्तित्व तथा सरोकारवालाको उपस्थितिमा तालिमको समापन रोङस्थित जंगल रिसोर्टको सभाहलमा गरिएको हो।

Share this: