इलाममा विद्यार्थी महोत्सव हुँदै, शैक्षिक सुधारमा नयाँ बहसको अपेक्षा

समाचार

इलाम जिल्लाको शैक्षिक सुधारका लागि फरक निस्कर्ष निकाल्ने उद्देश्यसहित इलामस्थित महेन्द्ररत्न बहुमुखी क्याम्पसमा विद्यार्थी महोत्सव आयोजना हुने भएको छ। क्याम्पसस्थित स्वतन्त्र विद्यार्थी युनियनको आयोजनामा आगामी माघ २३ गतेदेखि माघ २५ गतेसम्म महोत्सव सञ्चालन गरिने युनियनले जनाएको छ।

युनियनका सभापति विशाल कार्कीका अनुसार महोत्सवमा जिल्लाका सबै उच्च माध्यमिक विद्यालयका विद्यार्थीलाई समेत सहभागी गराउने लक्ष्य लिइएको छ। महोत्सवका क्रममा विभिन्न चरणमा शैक्षिक बहस, विज्ञहरूसँग अन्तरक्रिया, साहित्यिक छलफल तथा महेन्द्ररत्न बहुमुखी क्याम्पसको विगत, वर्तमान र भविष्यका विषयमा गहन बहस सञ्चालन गरिनेछ।

त्यसैगरी उच्च मावि तथा क्याम्पसका विद्यार्थीहरूले उत्पादन गरेका हस्तकला तथा विज्ञानसम्बन्धी सामग्रीको प्रदर्शनी स्टल, विभिन्न परिकारका खानाका स्टल, विभिन्न जाति तथा समुदायका झाँकी प्रदर्शन, वक्तृत्वकला प्रतियोगिता तथा सांस्कृतिक कार्यक्रमहरू समेत महोत्सवमा समावेश गरिनेछ।

महोत्सवकै अवसरमा स्वतन्त्र विद्यार्थी युनियनद्वारा प्रकाशित स्मारिकाको विमोचन, विद्यार्थीहरूका लागि अक्षयकोष स्थापना लगायतका कार्यक्रमसमेत राखिएको सभापति कार्कीले जानकारी दिनुभयो। साथै पूर्व विद्यार्थीहरूको पुनर्मिलन समारोह पनि महोत्सवको विशेष आकर्षण रहने बताइएको छ।

आयोजकका अनुसार महोत्सवमा क्याम्पसका करिब तीन हजार र क्याम्पसबाहिरका करिब सात हजार गरी झण्डै दश हजार विद्यार्थीको सहभागिता रहने अपेक्षा गरिएको छ।

Share this: