नेपाली कांग्रेस इलामले आउँदो प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि प्रत्यक्ष तथा समानुपातिक तर्फका उम्मेदवारहरूको नाम जिल्लाबाट टुंगो लगाएको छ । कांग्रेस इलामले जिल्लाका दुईवटै निर्वाचन क्षेत्रका लागि प्रत्यक्षतर्फ ११ जना र समानुपातिकतर्फ छुट्टाछुट्टै नाम सिफारिस गरेको हो।
इलाम निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यको प्रत्यक्षतर्फ निस्कल राई, केशव थापा, टिकाराम सुब्बा लेप्चा, डम्बर खड्का, भूपेन्द्र कट्टेल, हरिप्रसाद लुइँटेल र नगेन्द्र बुढाथोकीको नाम सिफारिस गरिएको छ। सिफारिस सूचीमा रहेका केशव थापा यसअघि निर्वाचन क्षेत्रहरू तीन हुँदा इलाम क्षेत्र नम्बर–३ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भइसकेका नेता हुन्। यस्तै टिकाराम सुब्बा लेप्चा संविधानसभा सदस्यका रूपमा समानुपातिक तर्फबाट संसद् प्रवेश गरिसक्नुभएको छ।
त्यसैगरी, कांग्रेसले इलाम क्षेत्र नम्बर १ बाट समानुपातिक तर्फ चक्र ९अभिषेक० एक्तेन, भिष्म प्रधान, अनिता श्रेष्ठ र कुसुम दाहालको नाम पनि सिफारिस गरेको छ।
इलाम निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यको प्रत्यक्षतर्फ भेषराज आचार्य, केशव थापा, नगेन्द्र कुमाल, रमेश लिङ्दम र ईश्वर चिपालुको नाम सिफारिस गरिएको छ। नगेन्द्र कुमाल यसअघि एकपटक समानुपातिक तर्फबाट प्रतिनिधिसभा सदस्य भइसकेका नेता हुन्।
त्यस्तै, क्षेत्र नम्बर २ बाट समानुपातिक तर्फ माधव चौलागाईं, प्रेमिका रानामगर, धनमान बराइली, सुजाता परियार, शान्तिकला राई तामाङ, निर्मला सन्जेल र भुवानीशमशेर राईको नाम सिफारिस गरिएको छ। समानुपातिक तर्फ सिफारिस भएकी सुजाता परियार यसअघि दुईपटक प्रतिनिधिसभा सदस्य बनिसक्नुभएको छ।
सिफारिस सूची अनुसार केशव थापाको नाम इलामका दुवै निर्वाचन क्षेत्र क्षेत्र नम्बर १ र क्षेत्र नम्बर २ बाट प्रत्यक्षतर्फ सिफारिस भएको छ। अब जिल्लाबाट सिफारिस गरिएका नामहरूमध्येबाट पार्टीको केन्द्रीय तहले अन्तिम उम्मेदवार टुंगो लगाउने कांग्रेस इलामले जनाएको छ।
