गायक कुबेर राई बुङ्वाखा सम्मान २०८२ बाट सम्मानित हुनुभएको छ । बुड्वाखाको २१ औँ वार्षिकोत्सव तथा बान्तावा साहित्य महोत्सवको अवसरमा उहाँलाई नगद रु १ लाख १ सय २५ रुपैयाँसहित सम्मान प्रदान गरिएको हो ।
सूर्योदय नगरपालिका १० फिक्कलस्थित कान्दुक फुटसल मैदानमा आयोजित कार्यक्रममा बान्तावा भाषा, साहित्य तथा सांगीतिक क्षेत्रमा पुर्याउनुभएको योगदानको कदर गर्दै राईलाई सम्मान गरिएको आयोजकले जनाएको छ ।
कार्यक्रम प्रा. डा. नोवलकिशोर राईको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा प्रमुख अतिथिका रूपमा नेपाल प्रज्ञा-प्रतिष्ठान साहित्य मातृभाषा विभागका प्राज्ञ राजन मुकारुङ उपस्थित हुनुहुन्थ्यो ।
कार्यक्रममा विशिष्ट अतिथि सुर्योदय नगरपालिकाका कार्यबाहक नगरप्रमुख दुर्गाकुमार बराल, भाषाशास्त्री तथा साहित्यकार विष्णुसिं राई, पूर्व आइजिपी दुर्जकुमार राई, सूर्योदय नगरपालिकाका निवर्तमान मेयर रण बहादुर राई, माङ्सेबुङ गाउँपालिकाका अध्यक्ष हेमन्त माक्रिहाङ राई, अखिल किरात राई संघ सिक्किमका जेनेरल सेक्रेटरी सन्तोष के। राई तथा सदस्य के.बि. बुत्ताङ राई लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा बान्तावा भाषा, साहित्य, कला तथा संस्कृतिको संरक्षण र प्रवर्द्धनका विषयमा समेत चर्चा गरिएको थियो ।
