बिक्रम सुन्दास : फिक्कल, इलाम
सूर्योदय नगरपालिका अन्तर्गत रहेको फिक्कल नगर अस्पतालमा मुटुसम्बन्धी इको सेवा औपचारिक रूपमा सुरु गरिएको छ। मंगलबार आयोजित कार्यक्रममा कार्यवाहक नगर प्रमुख दुर्गाकुमार बरालले उक्त सेवाको उद्घाटन गर्नुभएको हो।
सेवा सञ्चालनमा आएपछि मुटुरोगसम्बन्धी प्रारम्भिक परीक्षण, नियमित स्वास्थ्य जाँच तथा आकस्मिक अवस्थाको पहिचान स्थानीयस्तरमै सहज रूपमा गर्न सकिने भएको छ। यसअघि सामान्य परीक्षणका लागि समेत जिल्ला बाहिर जानुपर्ने बाध्यता रहेको अवस्थामा अब नागरिकले आफ्नै क्षेत्रमा सेवा पाउने भएका छन्।
उद्घाटन कार्यक्रममा बोल्दै कार्यवाहक नगर प्रमुख बरालले नागरिकको आधारभूत स्वास्थ्य सेवामा पहुँच विस्तार गर्नु नगरपालिकाको प्राथमिकता रहेको बताउनुभयो। उहाँले आधुनिक उपकरण र सेवा विस्तारमार्फत गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने अभियानलाई निरन्तरता दिइने उल्लेख गर्नुभयो। साथै स्वास्थ्यप्रति नागरिक स्वयं पनि सचेत हुनुपर्नेमा उहाँले जोड दिनुभयो।
कार्यक्रममा वडा नं. २ का वडा सदस्य डिक बम्जन, कार्यपालिका सदस्यहरू लतादेवी गौतम, चन्द्रकला परियार लगायतको उपस्थिति रहेको थियो।
अस्पतालका प्रमुख डा. सरोज दर्नालले इसिजी सेवा सुरु भएसँगै मुटुरोगको प्रारम्भिक पहिचान तथा उपचार प्रक्रियामा सहजता आउने बताउनुभयो। उहाँका अनुसार विशेषगरी चिसो मौसममा मुटुरोगीको संख्या बढ्ने भएकाले स्थानीय स्तरमै सेवा सञ्चालन हुनु सेवाग्राहीका लागि ठूलो राहत भएको छ।
फिक्कल अस्पतालमा यसअघि नै पूर्ण अटोमेटिक बायोकेमेस्ट्री एनालाइजर मेसिन जडान गरिएको छ। नगरपालिकाले छिटो र भरपर्दो परीक्षण रिपोर्ट उपलब्ध गराउने उद्देश्यले अन्तर्राष्ट्रिय मान्यता प्राप्त उक्त मेसिन सञ्चालनमा ल्याएको हो। अस्पतालका प्रशासन प्रमुख फाजुङ भोटेले मेसिन सञ्चालनपछि परीक्षण रिपोर्ट छिटो उपलब्ध गराउन सहज भएको जानकारी दिनुभयो।
नगरका जनस्वास्थ्य निरीक्षक रविन खत्रीले समयअनुसार अस्पताललाई थप व्यवस्थित र प्रविधिमैत्री बनाउँदै लगिने बताउनुभयो। फिक्कल अस्पताल पहाडी क्षेत्रकै धेरै सेवा प्रवाह गर्ने अस्पतालमध्ये एक मानिन्छ।
स्थानीयवासीले फिक्कलमै इको सेवा सुरु हुनु सकारात्मक उपलब्धि भएको भन्दै खुशी व्यक्त गरेका छन्। साथै केही समयपछि अस्पताल नयाँ निर्माणाधीन भवनमा स्थानान्तरण भएपछि सेवा प्रवाह अझ सहज र प्रभावकारी हुने अपेक्षा गरिएको छ।
वार्षिक ६० हजारभन्दा बढी सेवाग्राहीले सेवा लिँदै आएको फिक्कल नगर अस्पतालले अब स्थानीय स्तरमै थप विशेषज्ञ स्वास्थ्य सेवा विस्तार गर्दै लैजाने जनाएको छ।
