पहिलो पटक आयोजना हुन लागेको ईयू टी–२० लिगका लागि बेल्जियममा ८ जना नेपाली क्रिकेटर विभिन्न टोलीबाट अनुबन्धित भएका छन्। नेपाली राष्ट्रिय टोलीका कप्तान रोहित पौडेल र उपकप्तान दीपेन्द्र सिंह ऐरी सहित अनुभवी स्पिनर सन्दीप लामिछाने, अनिल शाह, गुल्शन झा, आसिफ शेख, ललित राजवंशी र इशान पाण्डे लिगका विभिन्न टिममा ड्राफ्ट भएका हुन्।
उपकप्तान दीपेन्द्र सिंह ऐरीलाई जेबी ब्रुग्स ले प्रि–साइन गरेको थियो भने सन्दीप लामिछाने लियेज रेड लायन्स मा प्रि–साइन भएका छन्। कप्तान रोहित पौडेललाई गेन्ट ग्लाडियटर्स ले क्याटेगोरी ‘बी’ अन्तर्गत अनुबन्ध गरेको छ।
यस्तै, विकेटकिपर आसिफ शेख क्याटेगोरी ‘सी’ बाट एन्टवर्प एंकर्स मा आबद्ध भएका छन्। ललित राजवंशी र इशान पाण्डेलाई जेबी ब्रुग्सले ड्राफ्ट गरेको छ भने अप्सनल राउन्डमार्फत अनिल शाह र गुल्शन झा पनि सोही टोलीमा समावेश भएका छन्।
नयाँ लिगमा नेपाली खेलाडीहरूको उल्लेखनीय उपस्थिति रहनुले अन्तर्राष्ट्रिय स्तरमा नेपालको क्रिकेटको पहुँच र लोकप्रियता थप विस्तार भएको संकेत गरेको छ।
source : ujyaloonline
