विवेक शर्मा लामिछाने:- अन्तु ,इलाम
इलाम साहित्यिक क्षेत्रका एक चर्चित नाम हो रमेश किरण पौडेल। साहित्यको विविध विधामा कलम चलाउँदै आएका पौडेल विगत तीन दशकदेखि निरन्तर सिर्जनशील यात्रामा रहनुभएको छ ।
२०३४ सालको जेष्ठ १२ गते इलाममा जन्मिएका पौडेलका पिता गंगा प्रसाद पौडेल र माता छायाँदेवी पौडेल हुनुहुन्छ। उहाँको प्रारम्भिक साहित्यिक यात्रा रेडियो नेपालसँग पनि जोडिएको छ। २०५४र ५५ तिर उहाँले केही रेडियो नाटकहरू लेखी रेकर्ड गराउनुभएको थियो। यसरी रेडियो माध्यमबाट साहित्यिक संसारमा पाइला राख्नुभएका पौडेलले पछि कथा, उपन्यास र खोजमूलक कृतिहरू प्रकाशित गर्दै आउनुभएको छ ।
उहाँको पहिलो प्रकाशित कृति चियाबारी नामक कथासंग्रह हो, जुन २०५७ सालमा प्रकाशित भएको थियो। त्यसपछि २०६३ सालमा ‘अँध्यारो रात’ नामक उपन्यास लिएर आएका पौडेलले समकालीन समाजको जटिलता र मानवीय संघर्ष चित्रण गरेका छन्। २०७८ सालमा उहाँको खोजमूलक पुस्तक ‘विश्व शिसामहल श्रीअन्तु’ प्रकाशित भयो, जसले श्रीअन्तु क्षेत्रको ऐतिहासिक, सामाजिक तथा पर्यटकीय पक्ष उजागर गरेको छ।
पछिल्लो समय उहाँको उपन्यास ‘उज्यालो दिन’ २०८१ सालमा प्रकाशित भएको छ, जसले उज्यालो भविष्यप्रति मानिसको आशा, सामाजिक अन्याय र परिवर्तनको कथावाचन गर्छ।
साहित्य लेखनमा उहाँले डिल्लि आचर्य र दाहाल यज्ञनिधिबाट प्रेरणा पाएको बताउनुहुन्छ। रेडियो नेपालमा ‘साहित्य संसार’ कार्यक्रम संचालक यज्ञनिधिबाट उहाँको साहित्यप्रतिको लगाव र योगदानको अर्को पक्ष शुरुभएको थियो ।
समसामयिक सामाजिक परिस्थितिले सिर्जना गरेको मनोविज्ञान र सामाजिक सन्देश समेटेर लेख्ने पौडेल इलामकै सन्दर्भमा ‘इलाका लेखक’ का रूपमा परिचित हुनुहुन्छ। उहाँका कृतिहरूले गाउँ समाजको चित्रण गर्दै पाठकलाई गहिरो सोचमा पुर्यावउने गर्छन्।
रमेश किरण पौडेलको साहित्यिक यात्रा अझै निरन्तर छ भने सुर्योदय सामाजिक प्रतिष्ठानको आजिवन सदस्य रहि सामाजिक सेवामा समेत उतिक्कै सक्रिय हुनुहन्छ । समर्पण, अनुशासन र गहन दृष्टिकोणका कारण उहाँ नेपाली साहित्यमा एक सशक्त कलमधारीका रूपमा उभिनुभएको छ।