सूर्योदय नगरपालिकामा असोज १८ र १९ गतेको अविरल वर्षाका कारण प्रभावित क्षेत्रका लागि हालसम्म विभिन्न स्रोतबाट जम्मा ११ लाख ६५ हजार रुपैयाँभन्दा बढी राहत रकम संकलन गरिएको छ। विपद् फोकल पर्सन सृजन गदालका अनुसार हालसम्म कुल रु। ११ लाख ६५ हजार ३२ रुपैयाँ ११ पैसा संकलन भएको छ।
नगरस्तरीय विपद् व्यवस्थापन समितिको बैठकले कार्तिक १ गतेसम्मको राहत तथा पुनर्निर्माण कार्यको प्रगति प्रतिवेदन सार्वजनिक गरेको छ। नगरपालिकाले दैनिक रूपमा विपद् प्रतिकार्यका विवरण सार्वजनिक गर्दै आएको जनाएको छ।
विपद् प्रभावित परिवारलाई तत्काल राहत वितरण गरी स्थलगत विवरण संकलन कार्य सम्पन्न गरिएको नगरपालिकाले जनाएको छ। साथै, स्थानीय सडक मर्मत तथा सुचारु गर्न, विद्युतीय सेवा पुनः सञ्चालनका लागि हेभी इक्युपमेन्ट मेसिन र जनशक्ति परिचालन गरिएको छ।
वडा नं। १२ अन्तर्गत साउनेगैरा र रमिते चप्लेटिढुँगामा फोहोरमैला व्यवस्थापनको कार्य भइरहेको छ। यससँगै, अस्थायी आवास निर्माणका लागि लाभग्राहीहरूको विवरण विपद् पोर्टलमा प्रविष्ट गर्ने काम पूरा भइसकेको र घरवार गुमाएका परिवारका लागि आवास निर्माण तथा दीर्घकालीन पुनर्निर्माण योजना तयार पार्ने कार्य भइरहेको नगरपालिकाले जनाएको छ।



