“श्रम आप्रवासनका चक्रमा सुशासन, सुरक्षित, मर्यादित र सीपयुक्त आप्रवासन” भन्ने नाराका साथ २६औँ अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवसको अवसरमा हिजो सुर्योदय नगरमा विशेष कार्यक्रम सम्पन्न भएको छ ।
आप्रवासी कामदार हकहित संरक्षण केन्द्र, सुर्योदय नगर समिति इलामको आयोजनामा सम्पन्न कार्यक्रम समितिका अध्यक्ष खगेन्द्र बास्तोलाको अध्यक्षता तथा कोशी प्रदेश सभा सदस्य एवं पूर्व पर्यटन मन्त्री खिनु लङ्वा लिम्बुको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।
कार्यक्रममा केन्द्रका कोशी प्रदेश समिति महासचिव जिज्ञासा तामाङ गोले लगायत विभिन्न संघसंस्था प्रतिनिधि, सामाजिक अभियन्ता तथा स्थानीय सरोकारवालाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रमको सुरुवातमा बैदशिक रोजगारका क्रममा ज्यान गुमाएकाहरुको स्मृतिमा दीप प्रज्वलन गरी गरिएको थियो। सो अवसरमा वक्ताहरूले वैदेशिक रोजगारीमा जाने श्रमिकहरूको हक–अधिकार संरक्षण, सुरक्षित र मर्यादित आप्रवासन, सीप विकास तथा सुशासनको आवश्यकतामाथि जोड दिएका थिए।
प्रमुख अतिथि लिम्बुले आप्रवासी श्रमिक राष्ट्र निर्माणका महत्वपूर्ण आधार भएको उल्लेख गर्दै उनीहरूको सुरक्षाका लागि राज्य, समाज र सरोकारवाला निकायको साझा जिम्मेवारी रहने बताउनुभयो।
कार्यक्रममा आप्रवासी श्रमिकहरूका समस्या, चुनौती तथा समाधानका उपायहरूबारे छलफलसमेत गरिएको थियो। दिवसको अवसरमा आयोजक संस्थाले सम्पूर्ण आप्रवासी श्रमिक तथा तिनका परिवारजनमा शुभकामना व्यक्त गरेको छ।
