तेस्रो इलाम गोल्डकप बैशाख ५ देखि, उद्घाटन खेलमै अन्तर्राष्ट्रिय भिडन्त

समाचार

तेस्रो इलाम गोल्डकप फुटबल प्रतियोगिता बैशाख ५ गतेबाट सुरु हुने भएको छ। उद्घाटन खेलमा आयोजक रेडहर्स एफसी र भारतको जर्जियन एफसीबीच प्रतिस्पर्धा हुने तय भएको छ। रेडहर्स फुटबल क्लबले पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको टाइसिट सार्वजनिक गरेको हो।

बैशाख ५ देखि १२ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा राष्ट्रिय लिगका ३ क्लबसहित कुल ८ टोलीको सहभागिता रहनेछ। बैशाख ६ गते हुने दोस्रो क्वाटरफाइनलमा फिदिम स्पोर्टिङ क्लब र रोलिङ क्लब झापा भिड्नेछन्।

त्यसैगरी बैशाख ७ गते मछिन्द्र एफसी र मलेसियाको एन पेनाङ एफसीबीच खेल हुनेछ भने अन्तिम क्वाटरफाइनल बैशाख ८ गते डिफेन्डिङ च्याम्पियन न्युरोड टिम (एनआरटी) र चित्लाङ एफसीबीच हुने तय गरिएको छ।

प्रतियोगिता सम्पन्न गर्न करिब ७८ लाख १० हजार रुपैयाँ खर्च हुने अनुमान गरिएको छ। आयोजक रेडहर्स फुटबल क्लबका सदस्य तथा अखिल नेपाल फुटबल संघ (एन्फा) का पूर्व केन्द्रीय सदस्य निरोज खड्गीले पत्रकार सम्मेलनमा जानकारी दिएका हुन्।

उनका अनुसार यस वर्ष नेपाली राष्ट्रिय टोलीका अधिकांश खेलाडीहरू प्रतियोगितामा सहभागी हुनेछन्। विशेष आकर्षणका रूपमा मलेसियन टोली रहने बताउँदै उनले सो टोलीमा केही नेपालीसहित युरोप, ब्राजिललगायतका देशका खेलाडीहरू समावेश हुने जानकारी दिए।

यस वर्षदेखि राष्ट्रिय खेलकुद परिषद्को निर्णयअनुसार श्रम स्वीकृति लिएका विदेशी खेलाडीहरूले मात्र सहभागिता जनाउन पाउने व्यवस्था लागू गरिएको छ। अघिल्ला संस्करणहरूमा भने यस्तो व्यवस्था कडाइका साथ लागू गरिएको थिएन।

खड्गीले रेडहर्स क्लबको लक्ष्य प्रतियोगिता सञ्चालन मात्र नभई भविष्यका लागि खेलाडी उत्पादनमा समेत लगानी गर्ने रहेको बताए। सहभागी टोलीका खेलाडीहरूको बसोबास सहज बनाउन इलामका विभिन्न होटलहरूसँग सहकार्य गरिएको छ।

दर्शकको सुविधालाई ध्यानमा राख्दै करिब १० हजार दर्शक अट्ने बाँसको पारापिट निर्माण भइरहेको पनि आयोजकले जनाएको छ। प्रतियोगितामा गैरआवासीय नेपाली संघ (एनआरएनए) मुख्य प्रायोजक रहेको छ।

पुरस्कार राशीमा भने परिवर्तन गरिएको छैन। अघिल्लो संस्करणझैं विजेताले १० लाख रुपैयाँ र उपविजेताले ५ लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन्।

Share this: