पूर्वाञ्चल विश्वविद्यालयमा बालविकास सम्मेलन

शिक्षा

काठमाडौँ — पूर्वाञ्चल विश्वविद्यालयको शिक्षाशास्त्र संकायले बालविकास सम्बन्धी दुई दिने अन्तर्राष्ट्रिय सम्मेलन गर्ने भएको छ । बिराटनगरमा मंसिर २१ र २२ गते सम्मेलन हुने विश्वविद्यालयले जनाएको छ ।

सम्मेलनमा नेपाल सहित अमेरिका, बेलायत, मलेसिया, बंगलादेश लगायत १५ भन्दा बढी देशका प्राज्ञ, नीति निर्माताहरू, अनुसन्धानकर्ता र विद्यार्थीको सहभागितामा रहने शिक्षाशास्त्र संकायका डिन अनिल पोखरेलले जानकारी दिए ।

उनले सम्मेलनमा बालविकासका क्षेत्रमा प्राज्ञिक बहस र विमर्श गराउने उद्देश्य रहेको बताए । ‘प्रारम्भिक शिक्षामा नवीनतम विषयहरु आएका छन् । बालबालिकाको शिक्षा पाउने अधिकार, राज्यका साथै शिक्षक र अभिभावकको दायित्वको विषयमा पनि हाम्रा धारणाहरुमा पनि परिवर्तन आएको छ,’ उनले भने, ‘यस परिदृष्यमा विश्वविद्यालयले बालबालिकासँग सम्बन्धित विषयलाई तत्काल सम्बोधन गर्न यो सम्मेलन महत्वपूर्ण हुनेछ ।’

विश्वविद्यालयका उपकुलपति बिजु थपलियाले सम्मेलनमा प्रस्तुत भएका कार्यपत्र र कार्यशालाहरुबाट विश्वविद्यालयले भविष्यमा शिक्षाशास्त्र संकाय अन्तर्गत रहने गरी खोलिन लागेको ‘बालविकास केन्द्र (इसिडी) अध्ययन/अनुसन्धान केन्द्र’ सञ्चालनमा महत्वपूर्ण भूमिका खेल्ने बताए ।

‘बालबालिका लक्षित सम्मेलन न्याय, समता र अधिकार सुनिश्चित गर्न सघाउ पुग्नेछ,’ उनले भने । सम्मेलनमा बालबालिका लक्षित नीति, विशेष आवश्यकता भएका बालबालिकाको हेरचाह, बालविकासका क्षेत्रमा आवश्यक जनशक्ति, पेशागत विकास र नैतिकता, जलवायु परिवर्तन र त्यसले बालबालिकालाई परेको प्रभाव, प्रारम्भिक बाल्यकाल विकासमा नवप्रवर्तन आदि विषयमा ४० भन्दा बढी सहभागीहरुले अध्ययन अनुसन्धानको प्रस्तुती, बालबालिका लक्षित विषयमा कार्यशाला एवं प्रदर्शनी गर्ने कार्यक्रम रहेको छ ।

Share this:

Leave a Reply