इलामको रोङमा श्रमपिताको सम्मान गर्दै , सालिक पनि निर्माण गरिने

समाचार

गोविन्द पौडेल, रोङ इलाम

स्थानीय सरकारको दोस्रो कार्यकालको अन्तिम नीति, कार्यक्रम तथा बजेट सार्वजनिक भएपछि विभिन्न पालिकाले ल्याएका योजनाबारे चर्चा भइरहेका बेला इलामको रोङ गाउँपालिकाले भने श्रमको सम्मान गर्दै एउटा उदाहरणीय निर्णय गरेको छ।

गाउँपालिकाले निःस्वार्थ रूपमा सार्वजनिक सम्पत्तिको संरक्षण गर्दै ज्यान गुमाएका रोङ ४ का स्वर्गीय वीरबहादुर राईको सम्मानमा सडकको नामकरण गर्नुका साथै शालिक निर्माण गर्ने निर्णय गरेको हो।

६० वर्षीय राई एकल हुनुहुन्थ्यो। उहाँ सुस्त श्रवणशक्ति भएका तथा स्पष्ट रूपमा बोल्न नसक्ने अवस्थाका नागरिक भए पनि गाउँको विकास र सार्वजनिक सम्पत्तिप्रति अत्यन्त जिम्मेवार रहनुभएको थियो।

वि।सं। २०८२ साउन २८ गते परेको अविरल वर्षाले रोङ गाउँपालिका ४ को बागखोर, पहरीगाउँ, ओझेली, मानाबुङ, सन्सरीडाँडा, कालीडाँडा हुँदै भोटेटार जाने सडकमा ठूलो बाढी आएको थियो। सडकको नाली थुनिएपछि सडक नै बग्ने अवस्था सिर्जना भएको थियो। अधिकांश स्थानीय घरभित्रै सुरक्षित बसेका बेला वीरबहादुर भने सडक जोगाउन एक्लै नाली सफा गर्दै पानीको बहाव खुलाउने प्रयासमा जुटेका थियो।

त्यही क्रममा माथिबाट आएको पहिरोले उहाँलाई पुरेपछि घटनास्थलमै उहाँको दुःखद निधन भएको थियो। सार्वजनिक सम्पत्ति जोगाउने प्रयासमै उहाँले आफ्नो जीवन गुमाएका थियो।

उहाँकै त्याग र समर्पणको उच्च कदर गर्दै रोङ गाउँपालिकाको २०औँ गाउँसभाले बागखोर–पहरीगाउँ–ओझेली–मानाबुङ–सन्सरीडाँडा–कालीडाँडा–कउसेटार सडकलाई मार्गलाई ‘वीरबहादुर राई मार्ग’ नामकरण गर्ने निर्णय गरेको छ।

यसैगरी, सङ्घीय सरकारको समपूरक अनुदानअन्तर्गत विनियोजित दुई करोड रुपैयाँबाट सडक स्तरोन्नतिका साथै उपयुक्त स्थानमा वीरबहादुर राईको शालिक निर्माण गरिने गाउँपालिकाले जनाएको छ।

गाउँपालिका अध्यक्ष मणिकुमार स्याङ्वो सुवासका अनुसार समाजमा धेरैले शिक्षा र तालिम प्राप्त गरे पनि सार्वजनिक सम्पत्तिको संरक्षणका लागि आफ्नो ज्यानको समेत पर्वाह नगर्ने नागरिक विरलै भेटिन्छन्। निःस्वार्थ भावले श्रम र संरक्षणमा समर्पित वीरबहादुर राई सच्चा ‘श्रमपिता’ भएकाले उहाँको सम्मान गर्नु स्थानीय सरकारको दायित्व रहेको अध्यक्ष स्याङ्वोले बताउनुभयो।

रोङ गाउँपालिकाको यो निर्णयले श्रमको सम्मान गर्दै समाजमा निःस्वार्थ सेवाभाव र सार्वजनिक उत्तरदायित्वको सशक्त सन्देश दिएको स्थानीयवासीले बताएका छन्।   

                                                               

Share this: