
फिफा विश्वकप फुटबल २०२६ अन्तर्गत आज राति र भोलि बिहान हुने समूह चरणका अन्तिम खेलहरूले नकआउट चरणको समीकरण टुङ्ग्याउने भएका छन्। विशेषगरी समूह ‘आई’ मा उपाधि दाबेदार फ्रान्स र २८ वर्षपछि विश्वकपमा फर्किएको नर्वेबीचको प्रतिस्पर्धा विश्वभरका फुटबल समर्थकको मुख्य आकर्षण बनेको छ।
अमेरिकाको बोस्टन रङ्गशालामा नेपाली समयअनुसार आज राति पौने १ बजे हुने खेलमा दुवै टोली लगातार दुई जित निकाल्दै अन्तिम १६ मा स्थान सुरक्षित गरिसकेका छन्। अब यो खेलको विजेताले समूह ‘आई’ को शीर्ष स्थान हासिल गर्नेछ। यदि खेल बराबरीमा सकिए गोलअन्तरका आधारमा फ्रान्स समूह विजेता बन्ने सम्भावना बलियो छ।
एमबाप्पे र हालान्डको प्रत्यक्ष प्रतिस्पर्धा
आजको खेललाई केवल फ्रान्स र नर्वेको भिडन्त मात्र नभई आधुनिक फुटबलका दुई उत्कृष्ट स्ट्राइकरबीचको प्रतिस्पर्धाका रूपमा पनि हेरिएको छ।
फ्रान्सका कप्तान केलियन एमबाप्पे र नर्वेका स्टार एर्लिङ हालान्ड दुवैले यस विश्वकपमा समान ४–४ गोल गरेका छन्। त्यसैले गोल्डेन बुटको दौडमा पनि उनीहरूबीचको प्रतिस्पर्धा थप रोचक बनेको छ।
एमबाप्पेको गति, ड्रिब्लिङ र निर्णायक क्षमताले फ्रान्सलाई बलियो बनाएको छ भने हालान्डको शारीरिक क्षमता, हेडिङ र फिनिसिङ नर्वेको सबैभन्दा ठूलो हतियार हो।
पहिलोपटक विश्वकपमा आमनेसामने
फ्रान्स र नर्वे विश्वकप इतिहासमा पहिलो पटक एकअर्काविरुद्ध मैदान उत्रँदैछन्। यद्यपि अन्य अन्तर्राष्ट्रिय प्रतियोगितामा भने दुवै टोलीबीच केही भेट भएका छन्। त्यसैले विश्वकपको यो पहिलो भेट ऐतिहासिक मानिएको छ।
फ्रान्सको अनुभव, नर्वेको उत्साह
दुई पटक (१९९८ र २०१८) विश्वकप जितेको फ्रान्स अनुभवी टोलीका रूपमा मैदानमा उत्रनेछ। सन् २०२२ को विश्वकपमा उपविजेता बनेको फ्रान्स लगातार दोस्रो पटक फाइनल पुग्ने लक्ष्यसहित अमेरिकामा प्रतिस्पर्धा गरिरहेको छ।
उता नर्वे भने सन् १९९८ पछि पहिलो पटक विश्वकप खेल्दैछ। लामो अन्तरालपछि फर्किएको टोलीले उत्कृष्ट प्रदर्शन गर्दै नकआउट चरणमा स्थान बनाइसकेको छ। त्यसैले समूह विजेता बनेर आत्मविश्वास बढाउने लक्ष्य नर्वेको हुनेछ।
