आइतबारे युवा क्लबको आयोजनामा सुर्योदय नगरपालिका–११ स्थित बिरेन्द्र माध्यमिक विद्यालयको खेल मैदानमा यही माघ ३ गतेदेखि १० गतेसम्म २०औँ संस्करणको प्रथम भेट्रान तथा दोस्रो महिला फुटबल प्रतियोगिता सञ्चालन हुने भएको छ।
विगत ३–४ वर्ष विभिन्न कारणले प्रतियोगिता आयोजना हुन नसके पनि यस वर्षबाट पुनः निरन्तरता दिन लागिएको आयोजक समितिले जानकारी दिएको छ। प्रतियोगिताबारे जानकारी दिन आज खेल मैदान परिसरमा पत्रकार सम्मेलन आयोजना गरिएको थियो।
आयोजक समिति संयोजक सोनाम छिरिङ बर्फोङ्गको अध्यक्षतामा सम्पन्न पत्रकार सम्मेलनमा विद्यालय व्यवस्थापन समिति अध्यक्ष भीष्म प्रधान, वडा सदस्य सरन लिम्बु, स्थानीय टोल विकास संस्थाका अध्यक्षहरू, विभिन्न संघ–संस्थाका प्रतिनिधि, लब्धप्रतिष्ठित व्यक्ति तथा आयोजक समितिका पदाधिकारीहरूको उपस्थिति रहेको थियो।
प्रतियोगिता सम्पन्न गर्न ३ लाख रुपैयाँभन्दा बढी खर्च अनुमान गरिएको आयोजकले जनाएको छ। भेट्रानतर्फ छिमेकी राष्ट्र भारतको दार्जिलिङलगायत विभिन्न स्थानबाट ८ वटा टोली सहभागी हुनेछन् भने महिलातर्फ पनि ८ वटा क्लबको सहभागिता रहनेछ।
खेल अवधिभर सहभागी खेलाडीहरूको लागि १ लाख रुपैयाँ बराबरको नगद बीमा व्यवस्था गरिएको संयोजक बर्फोङ्गले जानकारी दिनुभयो।
प्रतियोगितामा भेट्रानतर्फ विजेता टोलीले नगद ५० हजार रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेता टोलीले नगद ३० हजार रुपैयाँ पाउनेछ। महिलातर्फ विजेताले नगद ३० हजार रुपैयाँ र उपविजेताले नगद २० हजार रुपैयाँ प्राप्त गर्नेछन्। साथै प्रत्येक खेलमा ‘म्यान अफ द म्याच’ पुरस्कार प्रदान गरिनेछ।
मेची राजमार्गसँग जोडिएको खेल मैदानको तयारीलाई तीव्र बनाइएको आयोजकले जनाएको छ। विगतका वर्षहरूमा दर्शकको उल्लेख्य उपस्थिति रहेको अनुभवका आधारमा यस वर्ष पनि दर्शकको कमी नहुने अपेक्षा गरिएको छ।
यसै खेल मैदानबाट उदाउँदै महिला राष्ट्रिय फुटबल टोलीकी खेलाडी एन्जेला तुम्बापो सुब्बाको सफलताले प्रेरणा दिएको उल्लेख गर्दै, आगामी दिनमा यस क्षेत्रका महिला खेलाडीहरूको भविष्य निर्माणमा टेवा पुर्याउने उद्देश्यले महिलालाई प्राथमिकतामा राखेर प्रतियोगिता आयोजना गरिएको आयोजक समितिले जनाएको छ।
