इलाम मा लुङ्खिम भाषाको संरक्षणका लागि स्रोत सामग्री हस्तान्तरण तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न

समाचार

फिक्कल इलाम, विक्रम सुन्दास

इलामको सुर्योदय नगरपालिका ११ मा  लोपोन्मुख लुङ्खिम भाषाको संरक्षण, प्रवर्द्धन तथा पुस्तान्तरणलाई टेवा पुर्‍याउने उद्देश्यले “लुङ्खिम भाषाको भाषा कक्षा सञ्चालनसम्बन्धी स्रोत सामग्री हस्तान्तरण एवं अभिमुखीकरण कार्यक्रम” सुर्योदय नगरपालिका–११ मा सम्पन्न भएको छ।

भाषा आयोगको समन्वय तथा लुङ्खिम राई समाज नेपाल, इलामको आयोजनामा सम्पन्न कार्यक्रममा भाषा आयोगका माननीय सदस्य मात्रिका प्रसाद पोख्रेल अध्यक्ष रहनुभएको थियो भने सुर्योदय नगरपालिकाका कार्यवाहक नगरप्रमुख दुर्गा कुमार बराल प्रमुख अतिथि रहनुभएको थियो।

कार्यक्रममा भाषा आयोगका उपसचिव गोविन्द प्रसाद पौडेल ले आयोगले लोपोन्मुख भाषाको संरक्षण, अभिलेखीकरण तथा भाषा शिक्षा प्रणालीसँग समन्वय गर्दै विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको बताउनुभयो। उहाँका अनुसार हाल नेपालमा लुङ्खिम भाषा बोल्ने वक्ताको संख्या ७०२ रहेको छ।

कार्यक्रममा सुर्योदय नगरपालिका ११ का वडाध्यक्ष सन्तोष राई , समाजसेवी रमेश राई लगायतले मातृभाषा संरक्षणको महत्वबारे धारणा राख्नुभएको थियो।

लुङ्खिम भाषा संरक्षणकर्ता जंगबहादुर राई तथा लुङ्खिम राई समाजका सचिव पूर्णबहादुर राई ले भाषा संरक्षणका लागि भाषा आयोगले खेलेको भूमिकाको प्रशंसा गर्नुभयो। सचिव राईले नेपालमा कुनै भाषालाई पूर्ण भाषाका रूपमा मान्यता प्राप्त गर्न करिब ३ हजार शब्दको शब्दभण्डार आवश्यक पर्ने जानकारी दिनुभयो।

उहाँले नेपालका स्थानीय भाषाहरूलाई क्रमशः कामकाजी भाषाका रूपमा प्रयोगमा ल्याउने प्रयास भइरहेको उल्लेख गर्दै कोशी प्रदेश मा लिम्बू र मैथिली भाषालाई कामकाजी भाषाका रूपमा प्रयोगको अनुमति दिइसकेको जानकारी दिनुभयो। कोशी प्रदेशमा १०९ भाषा बोलिने र तीमध्ये ४५ वटा रैथाने भाषा रहेको बताइएको छ।

कार्यक्रमका अवसरमा भाषा आयोगले लुङ्खिम भाषाका पाठ्यपुस्तक तथा अन्य शैक्षिक सामग्री वितरण गरेको थियो। लुङ्खिम समुदायको केन्द्रीय कार्यालय सुर्योदय नगरपालिका ११ मा रहेको छ। आयोजकका अनुसार यसअघि दुई चरणका कार्यक्रम सम्पन्न भइसकेका छन् भने स्रोत सामग्री वितरण तेस्रो चरणअन्तर्गतको कार्यक्रम हो।

कार्यक्रमलाई सम्बोधन गर्दै कार्यवाहक नगरप्रमुख बरालले स्थानीय तहले आफ्नो स्रोत र क्षमताअनुसार भाषा संरक्षणका कार्यक्रमलाई सहयोग गर्ने तथा आवश्यक बजेट उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले नेपाली समाज विदेशी संस्कार र अंग्रेजी भाषाप्रति बढ्दो आकर्षणमा रमाइरहेकाले आगामी ५० वर्षपछि नेपाली भाषासमेत चुनौतीमा पर्न सक्ने चिन्ता व्यक्त गर्दै मातृभाषा संरक्षणमा सबैको सक्रिय भूमिका आवश्यक रहेको बताउनुभयो।

लुङ्खिम भाषा कक्षा सञ्चालनका लागि आवश्यक स्रोत सामग्री हस्तान्तरणसँगै सम्पन्न अभिमुखीकरण कार्यक्रमले भाषा संरक्षण तथा नयाँ पुस्तामा मातृभाषा हस्तान्तरण गर्ने अभियानलाई थप बल पुगेको सहभागीहरूले बताएका छन्।

Share this: