मोन्था चक्रवातको असर घट्दै, विपद् प्रभावित इलाममा पुनर्निर्माणप्रति सरकारी चासो कमजोर

समाचार

बंगालको खाडीबाट उत्पन्न मोन्था नामक चक्रवातको प्रभावमा परेर भएको लगातार तीन दिनको वर्षा शनिबारबाट कम हुँदै गएको छ। वर्षा कम भएसँगै इलामसहित पूर्वी नेपालको मौसम सामान्य बन्दै गए पनि पहिल्यै वर्षातका कारण प्रभावित इलामका विभिन्न क्षेत्र अझै पनि जोखिममुक्त बनेका छैनन्।

गत असोज १८ गतेको अविरल वर्षाले ठूला क्षति पुर्‍याएका स्थानमा यो पटकको वर्षाले थप क्षति नपुर्‍याए पनि मेचि राजमार्गको राजदुवाली सडक खण्ड र अन्य सहायक सडकहरूमा भने पुनः अवरोध सृजना गरेको थियो। यसपटक इलाम प्रशासन, सुरक्षाकर्मी र स्थानीय तहको सक्रिय पहलका कारण आंशिक रूपमा सडक सञ्चालन गरी अत्यावश्यक सेवा सुचारु गरिएको जिल्ला प्रशासन कार्यालय इलामले जनाएको छ।

शनिबारदेखि खोलामा पानीको बहाव घटेसँगै मेचि राजमार्ग र सायक सडकहरू पूर्ण रूपमा सञ्चालनमा आएका छन्। यद्यपि प्रशासनले जोखिम यथावत रहेको भन्दै सर्वसाधारणलाई सतर्कता अपनाउन आग्रह गरेको छ।

नेपाल सरकारले इलामलाई संकटग्रस्त क्षेत्र घोषणा गरेको तीन हप्ता बितिसक्दा पनि ठोस र परिणाममुखी राहत तथा पुनःस्थापना कार्य अघि नबढेको भन्दै स्थानीयवासीले गुनासो व्यक्त गरेका छन्। असोज १८ गतेको बाढीपहिरोमा ३९ जनाको मृत्यु र एक हजारभन्दा बढी परिवार विस्थापित भएका थिए।

स्थानीय सरकारहरूमध्ये केहीले दीर्घकालीन पुनःस्थापनाका योजना अघि बढाए पनि, धेरैजसो पालिकाहरू अझै क्षतिको विवरण संकलनमै अल्मलिएका छन्। यसबीच, संघ, प्रदेश र स्थानीय सरकारबीचको समन्वयको अभावले दिगो राहत र पुनःनिर्माण कार्यमा ढिलाइ हुँदै गएको देखिएको छ।

स्थानीय विश्लेषकहरूले राजनीतिक उदासीनता र प्राथमिकतामा कमीका कारण इलाममा पुनःस्थापनाको गति सुस्त भएको बताएका छन्। उनीहरूका अनुसार, तिन तहका सरकारबीच स्पष्ट कार्यविभाजन र एकीकृत योजना अभाव रहँदा विपद्मा परेकाहरू अझै अस्थायी टहरामा बस्न बाध्य भएका छन्।

इलामका बासिन्दाले अब सरकारसँग दीर्घकालीन पुनःस्थापनाका ठोस कदम र प्रभावित नागरिकका लागि स्थायी बसोबासको सुनिश्चितता माग गरेका छन्।

Share this: