इलामको सूर्योदय नगरपालिका–१० फिक्कलस्थित फिक्कल नमुना माध्यमिक विद्यालयको १०५ औँ वार्षिक उत्सव विभिन्न कार्यक्रमसहित सम्पन्न भएको छ।
दुई दिन ९सोमबार र मंगलबार० सम्म सञ्चालन भएको उत्सव विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भुपेन्द्रनाथ शर्माको अध्यक्षता तथा सूर्योदय नगरपालिकाका कार्यवाहक नगर प्रमुख दुर्गा कुमार बरालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । कार्यक्रममा शिक्षक, विद्यार्थी तथा कर्मचारीलाई सम्मान तथा पुरस्कार वितरण गरिएको थियो।
कार्यक्रममा प्रधानाध्यापक राजेन श्रेष्ठले विद्यालयमा भइरहेका गतिविधि र आगामी योजनाबारे जानकारी गराउँदै शैक्षिक गुणस्तर सुधारका लागि विभिन्न पहल थालिएको बताए। पछिल्लो ६ महिनामा ४५० विद्यार्थीका घरदैलोमा पुगेर अभिभावकसँग समन्वय गरिएको, कक्षा प्रमुख शिक्षकको व्यवस्था गरी शिक्षकलाई थप जिम्मेवार बनाइएको उनले जानकारी दिनुभयो। उहाँले खेलमैदानको अभावका कारण केही समस्या रहेको पनि उल्लेख गर्नुभयो ।
१०२० विद्यार्थी अध्ययनरत विद्यालयमा नगरपालिकाको सहयोगमा इनोभेसन सेन्टर निर्माणाधीन रहेको छ भने करियर गाइडेनस तथा करियर काउन्सिलिङ कक्षा सञ्चालनको तयारी भइरहेको छ। १९७७ सालमा स्थापना भएको उक्त विद्यालय भौतिक पूर्वाधारका हिसाबले सुविधा सम्पन्न मानिन्छ।
समापन समारोहमा विभिन्न दाताहरूबाट स्थापना गरिएका स्मृति कोष तथा छात्रवृत्तिअन्तर्गत ४१ विद्यार्थीलाई पुरस्कार वितरण गरियो। साथै शिक्षक रिम्पल प्रधान र दिक्पाल राई उत्कृष्ट शिक्षक तथा कर्मचारी यज्ञप्रसाद चापागाईं उत्कृष्ट कर्मचारीका रूपमा नगदसहित सम्मानित भए। सरुवा भई जाने शिक्षकको विदाइ, नयाँ शिक्षकको स्वागत तथा पूर्व प्रधानाध्यापक गंगाबहादुर महतको विदाइसमेत गरिएको थियो।
कार्यक्रममा बोल्दै कार्यवाहक नगर प्रमुख बरालले सामुदायिक विद्यालयको गुणस्तर सुधारमा नगरपालिका प्रतिबद्ध रहेको बताउँदै अभिभावकको भूमिकामा पनि जोड दिए। वडा नं। १० का वडाध्यक्ष पेमा उगेन लामाले शैक्षिक क्षेत्रमा विद्यालयले उल्लेखनीय उपलब्धि हासिल गरेको बताए। वार्षिक उत्सवका अवसरमा विद्यार्थीहरूले विभिन्न सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए।
