नयाँ बुलन्दको दशौं वार्षिकोत्सव सम्पन्न, पत्रकार पौडेल सम्मानित

समाचार

बुलन्द मल्टिटेक्निकल मिडिया प्रालिद्वारा सञ्चालित अनलाइन पत्रिका ‘नयाँ बुलन्द डटकम’ले आफ्नो दशौं वार्षिकोत्सव बिहीबार विविध कार्यक्रमका साथ सम्पन्न गरेको छ । जिल्ला समन्वय समिति इलामको सभाहलमा आयोजित कार्यक्रममा नयाँ बुलन्दले प्रकाशन गरेको सन्देशमूलक भित्तेपात्रो २०८३ सार्वजनिक गरिएको हो ।

क्यालेण्डर सार्वजनिक कार्यक्रममा नयाँ बुलन्दका सम्पादक राम योङहाङ, जिल्ला समन्वय समिति इलामका प्रमुख जयप्रकाश राई, प्रमुख जिल्ला अधिकारी ढकाल, प्रहरी प्रमुख एसपी कुलदिप चन्द, नेपाल पत्रकार महासंघ प्रदेश सदस्य बुद्धमाया सोङ्मी, फोनिज केन्द्रीय सदस्य अति योङहाङ, नेपाल पत्रकार महासंघ इलाम अध्यक्ष भीम चापागाईं, निवर्तमान अध्यक्ष विप्लव भट्टराई लगायत सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो ।

यसै अवसरमा स्थापना गरिएको ‘नयाँ बुलन्द अनलाइन पत्रकारिता पुरस्कार’बाट चुलाचुलीका युवा पत्रकार देवेन्द्र पौडेल सम्मानित हुनुभएको छ । उहाँलाई दोसल्ला, सम्मानपत्र तथा नगद १० हजार रुपैयाँसहित सम्मान गरिएको हो ।

२०७५ सालदेखि पत्रकारितामा सक्रिय पौडेल इलाम टाइम्स डटकम र हिमशिखर टेलिभिजनसँग आवद्ध छन् । ग्रामीण पत्रकारितामार्फत समाज परिवर्तनमा पुर्‍याएको योगदानको कदर गर्दै उनलाई सम्मान गरिएको नयाँ बुलन्दका सम्पादक योङहाङले बताउनुभयो ।

 

 

कार्यक्रममा वक्ताहरूले लोकतान्त्रिक समाज निर्माण, विकास र समृद्धिका लागि सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै जिम्मेवार पत्रकारितालाई अझ सशक्त बनाउनुपर्नेमा जोड दिएका थिए ।

कार्यक्रम नयाँ बुलन्दका सम्पादक राम योङहाङको अध्यक्षतामा सम्पन्न भएको थियो भने सञ्चालन उपसम्पादक प्रकाश नेपालले गर्नुभएको थियो ।

२०७४ वैशाखदेखि सञ्चालनमा आएको नयाँ बुलन्द डटकम प्रेस काउन्सिल नेपाल तथा विज्ञापन बोर्डमा सूचीकृत सञ्चारमाध्यम हो । साथै, यसले ‘नयाँ बुलन्द अनलाइन टिभी’ युट्युब च्यानल समेत सञ्चालन गर्दै आएको छ ।

Share this: